Logo

अबको बन्ने सरकारले ग्यारेन्टी लिनुपर्छ रेशमको रिहाइ(लेख)

Rato Pen १६ कार्तिक २०७९, बुधबार ०९:५६ मा प्रकाशित

लाल बहादुर चौधरी(बाहादुर बैरागी)
सम्पुर्ण जनतालाई थाहा छ रेशम चौधरी निर्दोष छ भनेर । नेपाल सरकारलाई पनि थाहा छ रेशम निर्दोष छ । टिकापुरबासीले बारम्बार साबित गर्दै आएका छन् कि रेशम निर्दोष छ भनेर २०७४ को निर्वाचान र २०७९ सालको स्थानीय तहको निर्वाचनको परिणामले प्रमाणित गरेको छ । अहिलेको यो हुने संघीय चुनावमा फेरी पनि टिकापुरबासीले साबित गर्नेछन् । तर जानी जानी रेशम चौधरीलाई थारुको छोरा भएकै कारणले दोषीको बिल्ला भिंडाइ थुनेर राखेको अवस्था छ । यदि रेशम ज्यानमारा हो भने प्रचन्ड, बाबुराम नेतृत्वको दशबर्षे शसस्त्रद्वन्द्व, कमल थापा अनि ज्ञानेन्द्र शाहको शासन कालमा मासिनको हत्या भएको होईन र ? दश बर्षे जनयुद्धमा सत्र हजारको संख्यामा नेपालीहरुको ज्यान लिएको र बेपत्ता पारिएका छन् । खोइ यिनीहरुलाइ जेल हालेको ? यदि रेशमलाइ ज्यानमारा मुद्धा लाग्छ भने नेपालका ठूला भनिने सबै नेताहरुलाई यो मुद्धा लाग्नु पर्छ । यहाँ कुनैपनि नेताहरु अछुटो छैनन् चाहे शेरबहादुर देउवा हुन् या के.पी. ओली, यो मानेमा सबै ठूला नेताहरुको नेतृत्वमा कुनै नकुनै आन्दोलन भएकै छन् र ति आन्दोलनहरुमा नेपाली जनता शहिद भएकै छन् भने के ति नेताहरुलाइ कहिलै ज्यानमारा अभियोग लगाइयो ? थरुहट आन्दोलन भनेको एक्लो रेशम चौधरीको आन्दोलन थिएन त्यो आन्दोलन हामी सबै थारुको आन्दोलन थियो, तराइमा थारुहरुको बाहुल्यता रहेकोले संविधानमा थारु पहिचानको संघीयता बनाउनका निम्ति राज्यसंगको आन्दोलन थियो । त्यसैले टिकापुर घटना राजनीतिक मुद्धा हो । यसरी राजनीतिक घट्नामा कुनै ब्यक्तिलाइ जन्मकैद गर्न मिल्दैन । रेशम चौधरीलाई अब चुनाव पछि बन्ने सरकारले तुरुन्तै बाइज्जतका साथ रिहा गराइनु पर्छ, यसको लागि हामी सबै थारुहरु र नेता कार्यकर्ताहरु जुनसुकै पार्टीहरुमा आबद्ध रहेतापनि रेशमको रिहाइको माग यो हाम्रो साझा एजेन्डा हुनुपर्छ । अ–आफ्ना पार्टीका प्रतिनीधिसभाका उमेद्धवार र प्रदेशसभा सदस्यका उमेद्धवार हरुलाइ हामी बचनबद्ध गराउँ, सबैले अ–आफ्ना ठाउँबाट दवाब दिउँ, मौका यही हो चाहे शेरबहादुर देउवा हुन् या पुष्पकमल दहाल हुन् या के.पि. ओली, अ–आफ्ना पार्टीका अध्यक्षहरुलाइ झुकाउन सक्ने बेला हो । यदि हामी आफ्नो पार्टीमा यो कुरा राख्न सक्दैनौं भने हामी आफुलाइ त्यो पार्टीको नेता कार्यकर्ता भनाउँन कुनै हक छैन । यदि हामी थारु कार्यकर्ताको आवज पार्टीले सम्बोधन र कार्यन्वयन गर्दैन भने त्यो पार्टीमा हामी अँटाइ राख्न र पार्टीको झोला बोकी राख्न कुनै औचित्य छैन । मलाइ गर्व छ स्थानीय चुनाव अगावै म आफ्नो पार्टी नेपाली काँग्रेसको जिल्ला स्तरीय कार्यक्रममा संजय गौतम लगायत केन्द्रिय सदस्यहरु सामु यो कुरा भनेको छु । हाल पाँच दलीय गठबन्धनका प्र्््तिनीधिसभाका साझा उम्मेदवार संजय गौतम तथा प्रदेश सभा सदस्य उमेद्धवार अञ्जु दहीतसंग र नगर तथा जिल्ला स्तरका नेता ज्युहरुसंग ब्यक्तिगत रुपमा बारम्बार अर्जी चढाएको छु । रेशम चौधरीको रिहाइको लागि उमेद्धवारहरुले मुखले मात्रै बोलेर ठिक्क पार्नले काफी छैन पार्टीको घोषणा पत्रमा समेत प्रतिबद्धता जाहेर गर्नुपर्ने माग राख्दै आएको छु । अब देख्न बाँकी छ पहल र कार्यन्वयन पक्षमा नेपाली काँग्रेस कत्तिको सकारात्मक छ भनेर । यसैगरि साथी तपाईं पनि अ–आफ्नो पार्टीमा आवाज उठाउँनुहोस् यदि तपाईंले अहिले यो आवाज उठाउँनु हुन्न भने तपाईंलाइ पाप लाग्छ । कैलाली टिकापुरको थारुको घरहरु जल्दा बर्दियाका थारुको छाती पोलेको छ, त्यहाँका चेलिबेटीहरु बलात्कृत हुँदा बर्दियाका थारुको आत्मा रोएको छ, अनि रेशम चौधरीलाइ सरकारले सांसदको सपथ खुवाएर पद बहाल नगराइ जन्मकैद गर्छ भने यो अपमान र अत्यचार एउटा रेशम चौधरी माथी मात्रै भैरहेको अपमान र अत्याचार होइन हामी सम्पुर्ण थारुहरु माथी भैरहेको अपमान र अत्याचार हो । रेशम चौधरी जेल भित्र फँसिराख्दा नागरिक उन्मुक्ती पार्टीको मात्रै समस्या होइन यो समस्य भनेको सम्पुर्ण थारु समुदायको समस्या हो, कुनैपनि पार्टी चाहे त्यो काँग्रेस होस या माओबादी होस या एमाले भित्र सबै पार्टीहरुमा थारुहरुको अस्था र सहभागिता रहेको छ । त्यसैले यो समस्या सबै राजनीतिक दलहरुको पनि समस्या हो । यदि कुनै दलले यो समस्यको सम्बोधन र कार्यान्वयन गर्न चाँहदैन भने यस पालिको चुनावमा भोट माग्न थारु गाउँमा पस्न कुनै अधिकार छैन । मलाइ आशा र बिस्वास छ नेपाली काँग्रेस पार्टीले नेपालको हरेक गम्भिर परिस्थितिमा काँध थपेर पार लगाएको छ यसपालि तराइका थारुहरुलाइ निराश पार्ने छैन । चुनाव पछिको एक महिना भित्रै रेशम चौधरीको रिहाइ हुनु पर्छ र संगसंगै उहाँलाइ थारु आयोगको अध्यक्ष जस्तै कुनै पनि गरिमामय पद बहाल गर्दै राज्यले सम्मान दिनु पर्छ ।
लाल बहादुर चौधरी(बाहादुर बैरागी)
नेपाली काँगे्रस क्षे.प्र.बारबर्दिया ९ कतर्निया बर्दिया
सम्पर्क ः ९८६८२४०३६५

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?