Logo

आधार परियोजनाद्धारा संचालित क्रियाकलापको संयुक्त अनुगमन तथा समिक्षा बैठक

Rato Pen १४ फाल्गुन २०७९, आईतवार २२:४६ मा प्रकाशित

बर्दिया, फागुन १४ गते
बारबर्दिया नगरपालिकाका स्तरीय सरोकारवाला निकायद्धारा आधार परियोजना मार्फत गरिएका क्रियाकलापको संयुक्त फिल्ड अनुगमन तथा पालिका स्तरीय परियोजना सल्लाहकार समितिको समिक्षा बैठक बसेको छ । डीसिएको आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्रद्धारा संचालित आधार परियोजनाका कार्यक्रम लागु भएको नमुनाको रुपमा ३ स्थानमा संयुक्त अनुगमन तथा समिक्षा बैठक बसेको हो ।


बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको नेतृत्व तथा अध्यक्षतामा भएको अनुगमन र समिक्षा बैठककोमा बारबर्दिया वडा नंम्बर ९ मा रहेका मिलन कृषक समुह, वडा नम्बर ३ मा रहेको जुनेली दुध उत्पादक कृषक समुह र वडा नम्बर २ मा रहेको जनचेतना आधारभूत विद्यालयमा निर्माण गरिएको सुरक्षित खानेपानी ट्याँकीको अनुगमन गरिएको छ ।
फिल्ड अनुगमनको क्रममा मिलन कृषक समुहको ब्यबसायिक तारकारी खेति र सोलार सिचाई, जलवायु मैत्रीप्रविधिको अवलोकन गरिएको छ । जुनेली दुध उत्पादक कृषक समुहका सदस्यहरुसंग अन्तरक्रिया गरिएको छ । अन्तरक्रियाका क्रममा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा ब्यबसायिक भैसीपालन गरेर दुध उत्पादन गरि बजारीकरण गरिरहेको बताउनु भएको छ । ब्यबसायिक भएपछि जिविकोपार्जन गर्न सहज भएको, घरपरिवारमा सुखि जीवनयापन उन्मुख हुदै गएको बताउनु भएको छ । साथै स्थानीय सरकार तथा संस्थाहरुको सहयोग तथा समन्वयको निरन्तरताको अपेक्षा गर्नु भएको छ । सरोकारवालाहरुले पनि आवश्यक परेको बेलामा सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।


अनुगमन पश्चात नगरस्तरीय समिक्षा बैठकमा आधार परियोजना अन्तरगत भएका सम्पुर्ण क्रियाकलाप तथा आगामी योजनाको बिषयमा छलफल गरिएको छ । छलफलमा सहभागीहरुले सरोकारवाला निकायका प्रतिनिधिहरुले सल्लाह सुझाव तथा जिज्ञासा राख्नु भएको छ । बिगत दुई बर्ष देखि संचालनमा रहेको परियोजनामा नयाँ आएका जनप्रनिधिहरुले, कार्यक्रम संचालन भएको स्थान, लाभावित समुह, सहकारी संस्था तथा ब्यक्तिहरुको बिवरण बारे जानकारी भएको भए समन्वय र सहकार्य गर्न अझ सहज हुने धारणा राख्नु भएको छ । अनुगमन गरिएको स्थानका समुहहरुमा प्रभावकारी भएकोले बाँकी स्थानमा भएको कार्यक्रमबारे जानकारी भए अन्य समयमा पनि अवलोकन तथा समन्वय गर्न सहजहुने सहभागिहरुको भनाई रहेको छ । बैठकमा बारबर्दिया नगरपालिकाका नगरप्रमुख थारुले कार्यक्रम संचालनमा रहेका क्षेत्र र समुह तथा लाभावित ब्यक्तिहरुको विवरण आगमी सल्लाहकार समितिको बैठकमा राख्न सुझाव दिनु भएको छ । साथै कुनै पनि क्रियाकलाप गर्दा सम्बधित बिषयगत कार्यालय र सोही वडाका समितिलाई पनि जानकारी अनिर्वाय रुपमा गराउनु पर्ने बताउनु भएको छ ।


समिक्षा बैठकमा थारु महिला उत्पान केन्द्र आधार परियोजनाका कार्यक्रम संयोजक मंगल थारुले परियोजनाको बारेमा जानकारी गराउनु भएको छ । परियोजना अन्तरगत गरिब, विपन्न एवं साना किसानहरुको विभिन्न प्रकारका सेवा तथा सुविधामा पहुच अभिवृद्धि गर्ने, उहाँहरुको जिवनयापनको अवस्थामा सुधार तथा आय आर्जनहरुको अवसरमा वृद्धि गर्ने, सम्मानित तथा मर्यादित जिवन जिउनको लागि सहयोग गर्ने उदेश्यले कार्यक्रम संचालन भएको हो ।
आयआर्जन, जलवायुमैत्री प्रविधि एवं उद्यमशीलता विकासको माध्यम बाट गरिब, विपन्न तथा साना किसानहरुको जिविकोपार्जनमा सुधार ल्याउने, वालवालिका, महिला तथा खाद्य असुरक्षित घरधुरीहरुको पोषणमा सुधार ल्याउने, महिला तथा वालिकाहरुको स्वस्थ्य र सरसफाई सेवामा पहुच बढाउने, कार्यक्रम संचालित क्षेत्रमा विद्यालयको शैक्षिक बातावरण सुधार तथा बिपद् जोखीम न्यूनिकरण गर्ने अपेक्षा सहित परियोजना संचालन गरिएको परियोजनाका कार्यक्रम संयोजक थारुले जानकारी गराउनु भएको छ ।
परियोजना मार्फत कृषक समुहद्धारा व्यवसायिक तरकारी खेती तथा उत्पादन गर्न, सहकारी मार्फत लगानी, उत्पादन र बजारीकरण गर्न, संकलन केन्द्र मार्फत तरकारी, बाख्रा र दुध संकलन र जारीकरण गर्न, स्थानीय सरकार, वडा, पालिकाको बिषयगत शाखा लगाएतसँग समन्वय तथा सहकार्य गर्न सहज बनाउने रणनीतिक योजना रहेको संयोजक थारुले बताउनु भएको छ ।
बारबर्दिया नगरपालिकाका ७१ वटा समुह, २ वटा सहकारी र ६ वटा विद्यालयमा परियोजनामा आबद्ध गराएर तरकारी, बाख्रा र दुध मुख्य आधार बनाएर विपत् जोखिम तथा जलवायुमैत्रीमा कार्यक्रमहरु संचालन गरिएको छ ।
क्रियाकलाप अन्तरगत उत्पादक समुह तथा सहकारी पुनर्गठन, गठन तथा शसक्तीकरण गर्ने, महिला तथा युवाहरुको उद्यम विकास तथा गतिशिलता दिने, उत्पादन समुह तथा बजार पात्रहरुसँग सम्बन्ध विस्तार ( वित्तीय सँस्था र व्यापारीहरुसँग ) गर्ने रहेको छ । वालवालिका, महिला तथा खाद्य असुरक्षित घरधुरीहरुको पोषणमा सुधार गर्नका लागि पोषण सुधारको लागी स्वस्थ घर बगैचा प्रवद्र्धन गर्ने, महिला र बालबालिका पोषण शिक्षामा सुधार ल्याउने, सामुदायिक खाद्य महोत्सव र स्थानीय खाद्य बजार प्रवद्र्धन गर्ने रहेको छ । महिला तथा वालिकाहरुको स्वस्थ्य र सरसफाई सेवामा पहुच बढाउन मोबाइल एप्लिकेशन र मिडिया मार्फत युवती, महिला र पुरुषहरुलाई महिनावारी स्वच्छता बारे शिक्षित गर्ने, सार्वजनिक स्थान र स्वास्थ्य चौकीहरुमा हात धुने स्टेशनहरु स्थापना गर्ने, घर भित्रको भित्रि वायु प्रदुषण कम गर्न सुधारिएको चुलोको प्रयोगमा बढावा दिने र कोभिड १९ को रोकथाम र उपचारात्मक उपायहरुको लागि सन्देश सम्प्रेशण गर्ने रहेको छ । कार्यक्रम संचालित क्षेत्रमा विद्यालयको शैक्षिक बातावरण सुधार गर्न प्रकोप÷बिपद् जोखीम न्यूनीकरण गर्ने, विद्यालयको वातावरण सुधार गर्न भौतिक पुर्वाधार निर्माण (शौचालय, खानेपानी, हात धुने वेसिन तथा भवन ) मा सहयोग गर्ने, विद्यालयका वालबालिका र शिक्षकहरुलाई जलवायु परिवर्तन एवम प्रकोप÷ विपद जोखिम न्युनीकरण सम्बन्धि अभिमुखिकरण गर्ने र विद्यालय व्यवस्थापन र सम्बन्धित सरोकारवालाहरुलाई विद्यालय सुशासन सम्बन्धि सक्षम बनाउने रहेको छ । जिविकोपार्जन एवं उद्यमशीलता विकास, पोषण सुधार, स्वास्थ्य तथा सरसफाई, विद्यालयको वातावरण सुधार तथा विपद÷जोखिम न्युनिकरणमा परियोजनाले काम गर्ने मुख्य क्षेत्रहरु मानेको छ ।
आधार परियोजना अन्तरगत २०२१ र २०२२ मा आय आर्जन, जलवायुमैत्री प्रविधि एवं उद्यमशीलता विकासको माध्यमबाट गरिब, विपन्न एवं साना किसानहरुको जिविकोपार्जनमा सुधार ल्याउन डेरी उद्यम सामाग्री सहयोग, १ वटा दुध संकलन केन्द्रको स्थापना, २ वटा समुहमा सामाग्री सहयोग, २ वटा सहकारीमा सहयोग गरिएको छ । तरकारी उद्यम सहयोगमा कृषि सामाग्री सहयोग ४५ समुहमा, ९ सय ९५ जना कृषक लाभान्वित भएको, २ सय ४७ जना व्यवसायिक कृषक भएको, लगभग ६५ हे. क्षेत्रफलमा तरकारी खेति भएको, २ सय ४७ जना व्यवसायिक खेतिबाट बार्षिक. लगभग १ हजार ७ सय ५५ मेट्रिकटन तरकारी उत्पादन गरेको र जसबाट बार्षिक जम्मा आमदानी ४ करोड ३ लाख सम्म भएको कुरा आधार परियोजनाका संयोजक थारुले जानकारी गराउनु भएको छ ।
आधार परियोजना मार्च २०२१ देखि शुरु भई फेब्रुअरी २०२४ सम्म संचालन हुने छ । यो परियोजना बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर २,३,४,५,६,८,९,१० र११ नम्बर वडामा संचालनमा रहेको छ । हाल उक्त परियोजनाको कार्यक्रम गुलरिया नगरपालिकाको वडा नम्बर ४ र ५ मा पनि विस्तार गरिएको छ । परियोजनाले हाल ३८ वटा कृषि तरकारी समुह, २८ वटा बाख्रा समुह, ५ वटा दुधडेरी र २ वटा सहकारीमा कार्यक्रम संचालन गरिरहेको आधार परियोजनाका कार्यक्रम अधिकृत राधेकृष्ण थारुले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?