
बारबर्दिया,
बारबर्दिया नगरपालिकामा वाल विवाह न्युनिकरण परियोजना संचालनका क्रममा आएका चुनौतीका बारेमा पालिका स्तरीय सरोकारवाला पक्षसंग बैठक बसी समिक्षा गरिएको छ । प्लान इन्टरनेश्नल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप) बाँकेको साझेदारीमा संचालित परियोजनाको क्रियाकलाप बारबर्दिया नगरपालिकाको समन्वय तथा सहकार्यमा स्थानीय सरकारका सरोकारवालासंग समिक्षा गरिएको हो ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले बि ग्रुप बाँकेले संचालन गरेको कार्यक्रम पालिकाको लक्ष्य उदेश्य तथा आबश्यकताको आधारमा भएको र जुन उदेश्यका साथ कार्यक्रम संचालन गरेको बताउनु भएको छ । पालिकाको आबश्यकता तथा प्राथमिकता र दिगो बिकास लक्ष्य अन्तरगत सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने योजना अनुसार पालिकाको कार्ययोजनामा बिभिन्न सामाजिक संघसस्थासंग समन्वय र साझेदारी गरी अगाडी बढेको बताउनु भएको छ ।
बारबर्दियाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले धारणा राख्ने क्रममा बारबर्दिया नगरपालिका भित्र यस बर्ष २० बर्ष मुनिका ४३ जना बालिका प्रजनन् स्वास्थ्यका साधनहरु प्रयोग गरिरहेको र १ सय १५ जना महिला गर्भवती रहेको उहाँहरु स्वास्थ्य संस्थामा आउने गरेको बताउनु भयो ।
बैठकमा समुदायमा अझपनि भागी विवाह, बालविवाह, प्रजनन् स्वास्थ्य, आर्थिक तथा सामाजिक कारणले बिद्यालय नजाने बालबालिका, बालविवाह पछि बिद्यालय छाड्ने उमेर समुह ,जस्ता जटिल समस्याहरु अझपनि समुदायमा बिद्यमान अबस्थामा देखिएको र यस प्रकारका चुनौतिहरुका बारेमा सहभागी बिषयगत शाखा प्रमुखहरुले आआफ्नो धारण राख्नु भएको थियो ।
यसको निराकरण गर्नका लागि विद्यालय स्तरमा बालविवाहको बारेमा बिभिन्न खालका अन्तरक्रिया कार्यक्रम गर्ने, बालमैत्री तथा लंैगिकमैत्री आचारसंहिता निर्माण गर्ने, बिद्यालयको गुनासो सुनुवाईको संयन्त्रलाई नियमित संचालनमा राख्ने, बालसंरक्षण नीति बिद्यालयस्तरमा यसको संंरचना तयार गर्ने, बालमैत्री, लैंगिकमैत्री भौतिक पुर्वाधारहरुको लागि संंरचना तयार गर्ने, बालविवाह हुन नदिन उद्यमशिलताका तालिम तथा सहयोगका कार्यक्रम संचालन गर्ने, विद्यालय तहमा अभिभावक शिक्षा कार्यक्रम, विद्यालयको प्राथाना समयमा बालविवाह भएपछि हुने समस्या तथा कानुनी प्रावधान बारे जानकारी गराउने, बालविवाह बारेमा समुदाय तथा विद्यालयस्तरमा वालक्लब किशोरी क्लब गठन तथा पुन गठन गरि उहाँहरुकै सहभागीतामा बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरेको खण्डमा बालविवाह तथा बालबालिकाको शैक्षिक सुधार हुने धारण राख्नु भएको छ ।
बैठकमा बालविवाहको क्षेत्रमा काम गर्ने संघसस्था र बिषयगत शाखाको समन्वय बैठक मासिक रुपमा बस्ने र आगमी बर्षका लागि कार्यदल निर्माण गरि एकिकृत रुपमा कार्यक्रम संचालन गर्न, पालिकाको योजना तर्जुमा बैठममा संघसस्थाका पदाधिकारीलाई निमान्त्रण गरी कार्यक्रम पेश गर्न अनुरोध गर्ने, पालिकाको नेतृत्वमा बालविवाहका सवालमा पैरवीलाई अगाडी बढाउने, संयुक्त रुपमा कार्यक्रमहरु समुदाय स्तरमा कार्यक्रम संचालनका लागि पालिका स्तरबाट पैरवी गर्ने योजना बनाएको छ । यस बैठकका बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्नकुमारी पाण्डे, सामाजिक बिकास समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृत, बिषयगत शाखाका शाखा प्रमुख, बालक्लब संजालका अध्यक्ष, बरघर संजालका प्रतिनिधि गरी करिब १८ जनाको सहभागीता रहेको बालविवाह न्युनिकरण परियोजना प्राबिधिक संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिनु भएको छ ।