
बारबर्दिया, जेठ ९ गते
बारबर्दिया नगरपालिकाका वडा नम्बर ७ मा अभिभावकका कारण विद्यालय उमेर समुहमा पनि विद्यालय बाहिर रहेका ५ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएको छ । वडा नम्बर ७ जनता माध्यमिक विद्यालय रम्बापुरको नजिक पर्ने बुद्धनगर टोल(मरघट्टी)मा वडा कार्यालय र विद्यालय, अभिभावकको समन्वयमा बाँके युनेस्को क्लबको सहकार्यमा विद्यार्थी भर्ना अभियान २०८० अन्तरगत घरदैलोको क्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गरिएको हो ।
नेपाल भरि २०८० बैशाख ३ देखि १६ गते सम्म राष्ट्रिय रुपमा विद्यार्थी भर्ना अभियान संचालनमा रहेपनि बारबर्दिया नगरपालिका अनिर्वाय आधारभूत शिक्षा सुनिश्चितता भएको पालिका रहेकोले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई भेट्ने बित्तिकै विद्यालयमा भर्ना गर्ने कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । बारबर्दिया नगरपालिका २०७५ साल असार २८ गते नै नेपालमा सबभन्दा पहिले अनिर्वाय आधारभूत शिक्षा सुनिश्तिता भएको पालिकाको रुपमा घोषणा गरेको हुनाले वालवालिकाहरुलाई विद्यालय बाहिर देख्ने बित्तिकै विद्यालयमा भर्ना गर्ने अभियानलाई जारी राखेको छ ।
विद्यालयमा भर्ना भएर पनि विद्यालय नगईरहेका विद्यार्थी तथा अभिभावकलाई नियमित विद्यालयमा पुर्याउनका लागि र भर्ना गर्न छुटेको हुनसक्ने सम्भावनालाई मध्यनगर गरेर गरिएको भर्ना अभियानमा पाँच जना बालबालिकाहरुलाई भर्ना गरिएको हो । उक्त बालबालिकाको घरपरिवार बारबर्दियाको अस्थायी बासिन्दाको रुपमा रहेको र केहि दिन देखि मात्र बारबर्दियाको बुद्धनगरमा बस्दै आउनु भएको छ । विद्यालयमा भर्ना भएका दुई परिवारका बालबालिका मध्य सुर्खेत र बाँके जिल्लामा स्थायी घर रहेको तर बारबर्दियामा अस्थायी रुपमा बस्दै आउनु भएको छ । एक परिवारका दिदीभाई करिब ३ महिना देखि बारबर्दियामा बस्दै आएको र उहाँहरुको जन्मदर्ता समेत नरहेकोले विद्यालयमा भर्ना हुन नगएको ती बालबालिकाको आफन्तहरुले बताउनु भएको छ । यस अघि उहाँहरु भारतमा बस्दै आउनु भएको थियो । यसै गरी अर्को परिवारका दुई बालिका र एक बालकको परिवार करिब ३ दिन अधि मात्र यतै बस्ने भनेर भारतबाट आउनु भएको छ ।
भर्ना अभियान अन्तरगत घरदैलो गर्ने क्रममा विद्यालय नगएको पाईएकोले २ बालक र ३ बालिकाहरुलाई जनता माध्यमिक विद्यालय रम्बापुरमा भर्ना गरिएको सोही विद्यालयका प्रधानाध्यपक रामप्रसाद ढकालले बालबालिकाको उमेर अनुसारको कक्षामा भर्ना गरेको बताउनु भएको छ । भर्ना गरिएको विद्यार्थीहरुलाई पाठ्यपुस्तक, पोसाक तथा विद्यालयबाट विद्यार्थीहरुलाई पाउने सेवा सुविधा उपलब्ध गराउने बताउनु भएको छ । प्रधानाध्यापक ढकालले विद्यालयमा कक्षा दोहोर्याईएका तथा परिक्षामा नो ग्रेड ल्याएका विद्यार्थीहरुलाई विद्यालय छोड्ने गरेको पाईएकोले उहाँहरुको संख्या निकालेर सबैको निगरानी गर्ने, अभिभावकहरुलाई सचेत तथा जानकारी गराउने तयारीमा रहेको बताउनु भएको छ ।
बारबर्दिया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ईन्द्र कुमार चौधरीले विद्यालयमा विद्यार्थी टिगाउन र सिकाउनका लागि वडा कार्यालयले कार्यक्रमहरु संचालन तथा ब्यबस्थापनमा सहयोग गर्न तयार रहेको बताउनु भएको छ । वडा नम्बर ७ भित्रका विद्यालयमा बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुको एकिन तथ्याँक वडामा दिन प्रअहरुलाई आग्रह गर्नु भएको छ । सहयोग गर्नु पर्ने अवस्था देखा परेमा आफुले वडा, नगर तथा संघसंस्थाहरुको समन्वयमा गर्न तयार रहेको बताउनु भएको छ । उहाँले विद्यालय बाहिर रहेका बालबालिकाहरुको अभिभाक तथा नजिकका आफन्तलाई वडा कार्यालयमा बोलाएको र उहाँहरुको बास्तविक समस्या पहिचान गरेर सहयोगको प्रक्रिया अगाडी बढाउने बताउनु भएको छ ।
घरदैलो तथा भर्ना अभियान कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरु, शिक्षक, विद्यार्थी, अभिभावक तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको प्लान ईन्टरनेशनल नेपाल बाँके युनेस्को क्लब बाँकेको साझेदारीमा संचालित बाल संरक्षण कार्यक्रमका सुपरभाईजर डम्बर परियारले जानकारी गराउनु भएको छ ।