Logo

यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सामाजिक अगुवालाइ तालिम

Rato Pen १० श्रावण २०८०, बुधबार २१:४० मा प्रकाशित

बारबर्दिया
बारबर्दिया नगरपालिकाका सामाजिक तथा धार्मिक अगुवा बडघरहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि दुई दिने तालिम सुरु गरिएको छ । समुदायमा रहेको हानिकारक अभ्यासको न्युनिकरण गर्नमा धार्मिक तथा सामाजिक अगुवाहरुको महत्वपुर्ण भूमिका रहेको हुदा अगुवाहरुलाइ यसबारे पुर्ण जानकारी भएमा बाल विवाह लगायत हानिकारक अभ्यासलाइ कम गर्न तालिमले सहयोग पुग्ने बिश्वास गरिएको छ ।
यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा राम्रो जानकारी भएमा समुदायमा स्थानीय अभिभावकहरुलाइ सहजिकरण गर्न यो तालिमले मदत हुने भनिएको छ । तालिममा बारबर्दिया नगरपालिकाका १८ जना सक्रिय रुपमा समुदायमा काम गर्ने बडघर र धार्मिक अगुवाहरुको सहभगिता रहेको छ ।


नेपाललाइ सन २०३० भित्र बाल बिवाह मुक्त देश घोषणा गर्ने अभियानलाइ सहयोग हुन संचालन गरिएको परियोजना बर्दियाको ठाकुरबाबा, बारबर्दिया, मधुवन नगरपालिका र गेरुवा गाँउपालिकामा संचालन गर्दै आइरहेको छ । बालविवाह न्युनिकरणका लागि स्थानीय सरकारसंगको समन्वयमा परियोजना संचालन भइरहेको छ ।
भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत धार्मिक तथा सामाजिक अगुवाहरुलाई तालिम प्रदान गर्न थालिएको हो ।
तालिमले सामाजिक अगुवाहरुलाइ समुदाय स्तरमा परिचालन हुनका साथै जानकार भएर परिचालन हुन सहयोग हुने बि ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशलले बताउनु भयो । यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी संगै किशोरकिशोरीहरुलाई प्रजनन् स्वास्थ्यको बिषयमा जानकारी गराउन पर्ने आवश्यकता महत्व र यसबारे जानकारी नपाउदा समुदायमा पार्ने प्रभाव, धार्मिक ग्रन्थहरुमा विवाह सम्बन्धी लेखिएको कुराको बारेमा तालिमका प्रशिक्षक अनिता विष्टले छलफल तथा जानकारी गराउनु भएको छ ।


सन् २०१३ मा बाल विवाह, कम उमेरमा हुने विवाह तथा जबरजस्ती हुने विवाह सम्बन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिको संकल्प प्रस्तावलाई नेपाल सरकारले सह–प्रायोजन गरी बाल विवाह विरुद्ध प्रतिवद्धता जाहेर गरेको थियो । सोही अनुसार नेपाल सरकार तथा लुम्बिनी प्रदेशले सन् २०३० सम्ममा वाल विवाह अन्त्य गर्ने रणनीतिक लक्ष्य लिएको छ । सोही लक्ष्य पुरा गर्नका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले आफ्नो तर्फबाट कार्यक्रमहरु गरिराख्नु भएको छ ।
बालिकाहरुमा परेको असरबारे अनुसन्धान प्रतिबेदन २०२१ अनुसार २० देखि २४ वर्ष उमेर समुहका ५.२ प्रतिशत विवाहित ब्यक्ति १५ वर्ष मुनिका छन् । र २२.७ प्रतिशत १८ वर्ष भन्दा कम उमेरमा विवाहित छन ।


बालविवाह, छिटो गरी हुने विवाह, जबरजस्ति गरिने विवाह र कम उमेरमै गरिने भागी विवाहका कारण अधिकासं किशोरकिशोरीहरुमा प्रत्यक्ष रुपमा शिक्षामा असर परेको छ । बाल विवाहको कारणले विद्यालय छोड्ने जोखिम रहेको पाईएको छ । जोखिमलाई अन्त्य गर्नका लागि धार्मिक, समाजिक तथा राजनीतिक अगुवासंगै स्थानीय स्तरमा रहेको संरचनागत समुह, संजालहरुबाट सचेतना फैलाई ब्यबहारमा लागु गर्नु पर्ने आवश्यकता रहेको देखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?