
ठाकुरबाबा नगरपालिकाका शिक्षकहरुलाई विद्यार्थीहरुको शैक्षिकस्तर बृद्धिका लागि अभिमूखिकरण गरिएको छ । सकारात्मक सिकाईका लागि उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले शिक्षकहरुलाई ठाकुरबाबा १ भुरिगाउँमा एक दिने अभिभूखिकरण गरिएको हो ।
ठाकुरबाबाका सामुदायिक विद्यालयका शिक्षकहरु बीच विद्यार्थीको सिकाईमा सकारात्मक वातावरण निर्माण गर्न सकिने आधार र तत्वको बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । विद्यालयमा विद्यार्थीकोे सिकाइ जीवनमा समेत काम लाग्ने जीवन उपयोगी हुनुपर्नेमा जोड दिइएको छ । विद्यार्थीको सिकाई प्रभावकारी बनाउन विद्यालयमा शिक्षा र प्रविधिको व्यवस्था हुनुपर्ने, व्यवसाय र आयआर्जनको स्रोत हुनुपर्ने, शिक्षामा नैतिकता, व्यायाम, खेलकुद र संगीतको व्यवस्था गरिएको हुनुपर्ने लगायतका बिषयमा छलफल गरिएको छ ।
विद्यालयमा प्रशंसात्मक खोज विधि अन्तर्गत रहेर विद्यार्थीको कमजोरी र राम्रो पक्ष पत्ता लगाई विद्यार्थीको नराम्रो पक्षलाई अभिभावक समक्ष राख्नुपर्ने र राम्रो पक्षलाई लिएर विद्यार्थीको प्रशंसा गर्नुपर्ने बिषयमा छलफल गरिएको छ । जसले गर्दा विद्यार्थीको मनोबल बढ्दै जाने र विद्यार्थीलाई पढाईमा थप सहज हुने कार्यक्रम प्रशिक्षक जीतबहादुर शाहले बताउनु भएको छ । विद्यार्थीका आर्थिक, सामाजिक समस्यासगै यौनिक समस्याहरु विद्यालय र अभिभावक दुबैले बुझ्न जरुरी रहेको र बालबालिकालाई प्रशस्त समय दिनुपर्ने उहाँले बताउनुभयो ।
वर्तमान समयमा विद्यालय उमेर समुहका विद्यार्थीहरूमा शारीरिक तथा मानसिक रूपमा असर पर्दा उहाँहरूले आत्महत्या जस्ता गतिविधि गर्न सक्ने भएकाले यस्ता गतिविधिलाई नियन्त्रण गर्नका लागि खुशीका लागि शिक्षा, स्व–व्यवस्थापन र गर्न नसक्दा धेरै वालबालिकाहरु विद्यालय छाड्ने दर बढेको र यसको न्युनिकरणका लागि अपनाउनुपर्ने विभिन्न उपायहरूका बारेमा छलफल गरिएको छ ।
यसैगरि कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका परियोजना प्रमुख बिमल गैरेले बालबालिकाहरू सिकाई प्रभावकारी बनाउन विद्यालयहरुले समय समयमा विद्यार्थी र अभिभावकहरूलाई एकसाथ राखी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको बताउनुभयो । विद्यालयमा विद्यार्थीको उपस्थिति कस्तो छ भनेर ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । बिद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनका लागि विद्यालयमा शिक्षकहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । विद्यालयमा गुनासो सुनवाई संयन्त्र, बालमैत्री आचारसंहिता निर्माण गरिएको र सोको कार्यान्वयन भएको हुनुपर्ने बताउनु भयो । विद्यालयमा बालमैत्री तथा लैंगिकमैत्री शिक्षण सिकाइ भएको खण्डमा नमुना विद्यालय बन्ने बताउनु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र बि ग्रप बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाकाको समन्वयमा बाल विवाह न्युनिकरण परियोजना अन्तरगत सकारात्मक सिकाईका लागि उपयुुक्त वातावरण निर्माण विषयक एक दिने अभिमुखिकरण भएको छ । अभिमुखिकरणमा ठाकुरबाबा नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, लगायत भेरी वातावरणीय विशिष्टता समूह (बि गुप) बाँकेका कर्मचारीहरूको सहभागिता रहेको थियो ।