
बर्दिया- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण’अभियान बर्दियामा सुरु भएको छ । जिल्लाका ८ पालिकाका ७५ वटै वडामा आज अभियान उत्साहपूर्ण रुपमा उद्घाटन गरिएको माओवादी केन्द्र स्थायी कमिटी सदस्य र बर्दिया जिल्ला इन्चार्ज अभियान संयोजक पुर्णा कुमारी सुबेदिले बताउनु भयो ।
उहाँका अनुसार अभियानमा पार्टीका नेता, कार्यकर्ता सहित जनताको समेत सहभागिता रहेको थियो । उद्घाटन समारोहमा विभिन्न सास्कृतिक प्रस्तुतीले उल्लासमय बनाएको थियो । बर्दियाका नगरपालिका र गाउँपालिकाका सबै वडामा अभियान सुरु भएको र निरन्तर रुपमा आगामी १५ मंसिरसम्म सञ्चालन हुने जिल्ला इन्चार्ज सुबेदिले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘बर्दियाका सबै वडाहरुमा आज अभियान सुरु भयो । अध्यक्ष कमरेड प्रचण्डको मन्तव्य सुनेर नयाँ उर्जा सहित नेता कार्यकर्ताहरु आआफ्नो जिम्मेवारीमा खटिनुभएको छ ।’ अभियानका क्रममा जनतासँग भेटघाट गर्ने, संगठन विस्तार, सुझाव संकलन, पार्टी प्रवेश लगायतका कार्यक्रम सञ्चालन गरिने माओवादी केन्द्र नेता भवन कुमार थारु किशोरले बताउनु भयो । उहाँका अनुसार अभियानमा सरकारले गरेका कार्यहरुका बारेमा जनतालाई जानकारी दिने र विकास निर्माण लगायतका जनताका आवश्यकता र समस्याहरु टिपोट गरी सरकारसम्म पुर्याइनेछ ।
त्यसैगरी बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र स्थायी कमिटी सदस्य र बर्दियाका इन्चार्ज अभियान संयोजक पुर्णा कुमारी सुबेदी गुलरिया नगरपालिकामा अक्कल बाहादुर बम, बासगढी नगरपालिकामा पर्वती पुन, बारबर्दिया नगरपालिकामा नरेन्द्र न्याैपाने, ठाकुरबाबमा लक्ष्मीप्रसाद शर्मा आकाश , राजापुर नगरपालिकामा अन्जना थारु ,गेरुवा गाउँपालिकामा जित बाहादुर थारु र बढैयाताल गाउँपालिकामा भवन कुमार थारु किशोरले अभियानको नेतृत्व गरी खट्टिएका माओवादी केन्द्रले जनाएको छ ।