
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान सहित “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने नारा लिएर केन्द्रिय नेताहरु वडावडामा पुग्नु भएको छ । यहि भाद्र १६ गते देखि मंशिर १६ गते सम्म ३ महिना संचालन हुने अभियान औपचारिक रुपमा उद्घाटन भएपश्चात माओवादीका नेताहरु गाँउबस्तीमा पुग्नु भएको हो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा माओवादी बिशेष रुपान्तरण अभियानका बारबर्दिया नगरपालिका संयोजक नरेन्द्र न्यौपानेले जनतामा सरकारले गरेका राम्रा काम र माओवादीको एजेण्डाको बारेमा जानकारी गराउनका लागि अभियान संचालन गरेको बताउनु भएको छ । माओवादीले ल्याएको परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रनात्मक ब्यबस्थालाई खतरामा पार्ने शक्ति मौलाई रहेको अवस्थामा माओवादी जनता समक्ष वास्तविकता पुर्याउन आवश्यक रहेको बताउनु भएको छ । अहिलेको सरकारले जनपक्षीय काम गरिरहेको छ । त्यो कामको प्रचारप्रसार तथा जनता समक्षा पुर्याउन र जनतासंग हातेमालो गर्ने कार्यक्रमहरु गरिरहेको बताउनु भएको छ ।
अभियान अन्तरगत वडा स्तरमा कार्यक्रम गर्ने क्रममा बारबर्दिया नगरपालिकाको वडा ११को वडा कमिटीको प्रारम्भिक समिक्षा तथा आगामी कार्ययोजना निर्माण गरेको छ । कार्यक्रम अन्तरगत टोल भेला २७ गतेबाट असोज ३ गते सम्म निर्णय गरेको छ । भाद्र २७ गते अकलघरुवा, २८ गते फच्कहवा, ३० गते जब्दी, ३१ गते खुन्टीपुर, आसोज १ गते बेलभारमा, २ गते बिजयनगर र ३ गते लम्कीफाँटामा भेला गर्ने निर्णय गरेको छ ।
यसैगरी वडा स्तरको कार्यक्रममा भाद्र २९ गते महिला वडा भेला बेलभारमा, असोज ५ गते बिजयनगर हाटबजार सरसफाई गर्ने, ७ गते थारु भेला जब्दीमा गर्ने, ९ गते विद्यार्थी भेला सिम्हा माध्यमिक विद्यालयमा गर्ने, ११ गते वाई.सि.एल. भेला बेलभारमा गर्ने, १३ गते किसान भेला फच्कहवामा गर्ने, १५ गते दलित भेला र १६ गते शहिद बेपत्ता भेला बेलभारमा गर्ने निर्णय गरेको छ ।
यसरी नै अन्य वडाहरुमा योजना बनाएर प्रत्येक वडाहरुमा कार्यक्रम गरिरहेको नेकपा माओवादी केन्द्र बारबर्दिया नगरकमिटीका अध्यक्ष दशरथ अगलपथ थारु(सुदिन)ले जानकारी गराउनु भएको छ ।