Logo

पहिचानका लागि मातृभाषा, भेषभुसा, कलासंस्कृति संरक्षणको आवश्यक छ : लुम्बिनी प्रदेश सांसद तिमिल्सिना

Rato Pen ४ कार्तिक २०८०, शनिबार १५:३८ मा प्रकाशित

बर्दिया,
लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेस संसादीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पहिचानका लागि मातृभाषा, भेषभुसा, कलासंस्कृति र संस्कार संरक्षणको आवश्यकता रहेको बताउनु भएको छ । विजया दशमी, शुभ दिपावली, छठपर्व २०८० तथा नेपाल सम्वद ११४४को पावन अवसरमा थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति बर्दियाको आयोजनामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सांसद तिमिल्सिनाले थारु समुदायमा आईरहेको बिकृति तथा बिसंगती न्युनिकरणका लागि गरिब विपन्न परिवार रहेको बस्तीका घरघरमा गएर सचेतनाका कार्यक्रमहरु गर्नु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । थारु समुदायमा यस्ता खालका बिकृतीहरुले ऋणको भारी बोकाउने काम गरिरहेकोले समुदायका अगुवाहरुले सचेत हुनु पर्ने र त्यसका लागि आफुले गर्नु सक्ने सहयोग गर्न तयार रहेको बताउनु भएको छ । यसैगरी उहाँले अर्को प्रसंगमा बारबर्दिया नगरपालिकामा सिक्लसेल अस्पतालका लागि निर्माण गरिएको भवनमा सेवा संचालनका लागि बर्दियाका प्रदेश सांसदहरुको समुहिक प्रतिबद्धता गरे संचालन गर्न कठिनाई नरहेको बताउनु भएको छ । सबैले आफ्नो क्षेत्रबाट ५०÷५० लाखको बजेट बिनियोजन गर्नका लागि अन्य सांसदहरुलाई प्रस्ताव गर्दै आफु बजेट विनियोजन गर्नका प्रतिबद्ध रहेको बताउनु भएको छ । यस्तो खालका कार्यक्रमले लुम्बिनी प्रदेशका बर्दियाको सन्देश ११ वटा जिल्लामा सकारात्मक हुने विश्वास ब्यक्त गर्नु भएको छ ।


कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार (सत्गौवा)थारुले थारु समुदायको पक्षमा सदैब प्रदेश सभा तथा नीतिनिर्माण प्रक्रियामा आवाज उठाईरहेको बताउनु भएको छ । निजामती सेवा ऐन बनाउने बेलामा आफुले उक्त ऐन निर्माणका मुल समितिमा बसेर पैरवी गर्दै थारुहरुको कोटामा बृद्धि गर्न सफल भएको बताउनु भएको छ । आफुले आफ्नो सांसदको पदलाई धरापमा राखेर थारुहरुको सवालमा बहस तथा वकालत गर्दै आएको बताउनु भएको छ । साथै बजेट निर्माणका क्रममा पनि न्यायौचित र समान बितरणमा महत्वपुर्ण आफ्नो भुमिका रहेको दाबी गर्नु भएको छ ।


लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर थारुले भेषभूसा र कलासंस्कृति संरक्षण र प्रवर्धनका लागि आफुबाट नै शुरुवात गर्नु पर्ने बताउनु भएको छ । भाषणमा मात्र होईन, ब्यबहारमा संरक्षण गर्नु पर्ने उहाँको भनाई रहेको थियो । थारु समुदायमा रहेको हस्तकला, खानाका परिकारहरुको पनि संरक्षणको अतिआवश्यक रहेको बताउनु भएको छ । साथै ब्यबहारिक शिक्षामा थारु समुदायलाई जोड्नु पर्ने र त्यसका लागि प्रदेश सरकारले योजना ल्याईरहेको बताउनु भएको छ ।


लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा कुस्मा थारु(आस्था)ले भेषभुसा र कलासस्ंस्कृति संरक्षणका लागि विद्यालय तहबाट नै शुरुवात गर्नु पर्ने बताउनु भएको छ । आफु नगरपालिकाको उपमेयर रहेको बेलामा विद्यालयबाट नै कलासंस्कृतिको संरक्षण गराउनु पर्छ भनेर शुरुवात गरेको उदाहरण प्रस्तुत गर्नु भएको छ । विद्यालयमा हप्ता वा महिनामा एक पटक अनिर्वाय विद्यालयमा आफ्नो जातिसमुदायको पोषाक लगाएर आउने खालको वातावरण सिर्जना गरेर कलासंस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने भावनाको विकास हुने बताउनु भएको छ ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले थारु समुदायमा हानिकारक अभ्यासहरु मौलाईरहेकोले त्यसको अन्त्य गर्न आवश्यक रहेको बताउनु भएको छ । यस्ता खालका हानिकारक अभ्यासहरु हटाउनका लागि समुदाय स्तरबाट नै अभियान शुरुवात गर्नु पर्ने बताउनु भएको छ । समुदाय स्तरमा रहेका अगुवा तथा संरचनागत संगठनहरुलाई अभियान संचालनका लागि योजना लिएर आउन आग्रह गर्नु भएको छ । समुदायलाई हानीपुर्याउन प्रबृति तथा तत्वहरुलाई अन्त्य गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ ।


कार्यक्रममा बारबर्दिया नगरपालिकाका संस्थापक नगरप्रमुख दुर्गाबहादुर थारु(कबिर)ले संविधानले थारु समुदायलाई प्रदत गरेको अधिकारलाई सुनिश्चित गर्नका लागि नीति कार्यान्वयनका क्रममा नियत सफा हुने पर्ने बताउनु भएको छ । अहिले थारु समुदाय भनिए अनुसार अधिकार प्राप्त गर्न नसकिरहेको बताउनु भएको छ । यो कार्यान्वयनका लागि थारु कल्याणकारिणी सभाको नेतृत्वमा सबै पक्षले आ आफ्नो तर्फबाट दवाब दिनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ ।


शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सभा सदस्यहरु, नगरप्रमुख तथा पुर्व प्रमुखहरु, निर्माण ब्यबसाय, बरघर, पत्रकारलगाएतको सहभागिता रहेको थियो । सहभागिहरुले आफ्नो तर्फबाट बिजया दशमी, दिपावली, छठ, नेपाल सम्बदको अवसरमा शुभकामना आदानप्रदान गर्दै आफ्नो बिचर तथा संस्कृति, बिकृती र थारु समुदायको समस्य संगै थारुकल्याणकारिणी सभालाई सल्लाह सुझाव राख्नु भएको थियो ।


थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति बर्दिया अध्यक्ष बिरबहादुर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन सभाका जिल्ला सचिव हरिहर चौधरीले गर्नु भएको थियो । स्वागत मन्तब्य सभाकी उपाध्यक्ष सुभद्र योगी थारुले गर्नु भएको थियो । गुलरिया नगरपालिकाको सुहेलुवामा रहेको थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति बर्दियाको हलमा भएको भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?