राजविराज, २ चैत ।
भारोत्तोलनका राष्ट्रिय खेलाडी देबसुन्दर यादवको स्मृतिमा यहाँ आयोजित प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा १४ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएका छन् ।
सात स्वण जित्दै बर्दिया दोश्रो तथा सामान ४÷४ स्वर्ण जित्दै नेपाली सेना, कंचनपुर र आयोजक सप्तरी तेश्रो स्थान प्राप्त गरेका छन् ।
आइतबार अबेर रातीसम्म चलेको प्रतियोगिताको सोमबार अन्तिम नतिजा सार्वजनिक गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ कंचनपुरका सुभास उपाध्याय स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट तथा सोही जिल्लाका अशोक सिंह भण्डारी राइजिङ प्लेयर म्यान अफ टुर्नामेन्ट घोषित भए ।
त्यस्तै महिलातर्फ नेपाल प्रहरीकी तारा पुनः स्ट्रोङगेस्ट वुमन अफ द टुर्नामेन्ट तथा सप्तरीकी सरिता यादव राइजिङ प्लेयर वुमन अफ टुर्नामेन्ट घोषित भइन् ।
प्रतियोगिता समाप्तिपछि भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा नेपाल भारोत्तोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ, पूर्वमन्त्री उमेश यादव, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज माझी, संचारकर्मी नवीन गुप्ता, पूर्व सभासद् लक्ष्मी चौधरी, संघका सल्लाहकार सूर्यनाथ यादव लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरे ।
जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा ७ वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका गरि १ सय २० खेलाडीको सहभागिता रहेको थियो ।