
राजबिराज, १० चैत्र ।
राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा रुपनी राईडर्स र बजाज खडक वारियर्सले जित दर्ता गरेका छन् ।
मंगलबार सप्तरीको राजविराज स्थित राजरंशालामा सम्पन्न कुशल भुर्तेलको कप्तानीमा रुपनी राईडर्सले दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गर्यो ।
रुपनी राईडर्सले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ३९ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ४९ रन बनाए । सन्तोष कार्कीले २७ बलमा ३७ रन तथा दिपेश कंडेलले १५ बलमा २८ रन बनाए ।
रुपनी राईडर्सको लिंगमा अनिल यादव र सुमित झाले समान २ विकेट लिए । यस्तै सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेटको क्षतीमा १ सय ५३ रन बनाएको थियो ।
रुपनीको लागि ओपनर अमित यादवले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर सुनिल धमलाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले ३२ रन बनाए । लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० रन तथा निरज मुखियाले १७ रन बनाए ।
तिलाठी कोईलाडीको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए । .राशिद खान र आदील अन्सारीले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला चुनिए ।

त्यसैगरी आजकै दोश्रो खेलमा बजाज खडक वारियर्सले सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सलाई ४१ रनले पराजित गर्यो ।
बजाज खडक वारियर्सले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।
बोदे बर्साईनको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २९ रन बनाए, यस्तै अविनाश कर्णले १९ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सकिम आलम र बिशाल सुश्लिंगले समान १४ रन तथा बसन्त रेग्मीले १३ रन बनाए ।
बजाज खडकको बलिंगमा अनिल खरेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए, यस्तै भुलावन सहानीले ३ विकेट तथा पप्पु यादव र पवन सर्राफले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षेतीमा १ सय ८६ रन बनाएको थियो ।
बजाज खडक वारियर्सको लागि ओपनिंग ब्याटिंग गरेका अनिल शाहले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा अविजित सय रन बनाए । त्यस क्रममा उनले मात्र ५० बल सामना गर्दै ७ चौका र ८ छक्का प्रहार गरे । यस्तै कप्तान विवेक यादवले १७ बलमा ३० रन, प्रशान्त राईले ३६ बलमा २७ रन तथा पवन सर्राफले ५ बलमा अविजित २२ रन योगदान दिए ।
बोदे बर्साईन थन्डर्सको बलिंगमा बसन्त रेग्मीले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन खर्चिए पप्पु यादवले १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे । खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए ।
लिग अन्तर्गत बुधबार पनि दुईवटा खेल खेलिनेछ । पहिलो खेलमा विहान ९ बजे रुपनी राईडर्स र बजाज खडक वारियर्स तथा दोश्रो खेलमा टिभीएस किंग्स राजविराज र तिलाठी कोईलाडी जायन्टसले प्रतिस्पर्धा गर्नेछन् ।