Logo

सप्तरी प्रिमियर लिग ः बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी

Rato Pen ११ चैत्र २०७७, बुधबार १२:०६ मा प्रकाशित

राजबिराज, ११ चैत्र ।
सप्तरी प्रिमियर लिग अन्तर्गत चौथो दिनको सम्पन्न दुईवटा खेलमा बजाज खडक वारियर्स र तिलाठी कोईलाडी जायन्टसले जित हात पारेका छन् ।
सप्तरीको राजबिराज स्थित राजरंगशालामा जारी राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गतका पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरे ।
बजाज खडक वारियर्सले दिइएको १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सके ।
लक्ष्य पछ्याउने क्रममा रुपनीको लागि फिर्दोश अन्सारीले सर्वाधिक ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरी ५४ रन बनाए । त्यसैगरी सुनिल धमलाले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । माथिल्लो क्रममा ब्याटिंग गरेका लोकेश बम, कप्तान कुशल भुर्तेल र निरज मुखिया खाता खोल्न सकेन ।
बजाज खडक वारियर्सको बलिंगमा गोमानंद अमात्यले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए । अनिल खरेल र विवेक यादवले समान २ विकेट तथा भुलावन सहानी र पवन सर्राफले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाए थिए ।
वारियर्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल शाहले लगातार दोश्रो शतक प्रहार गर्ने क्रममा सर्वाधिक ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गरी १ सय १३ रन बनाए । अनिलले अघिल्लो खेलमा बोदे बर्साईन थन्डर्स बिरुद्ध पनि शतक बनाएका थिए ।
वारियर्सको लागि कप्तान विवेक यादवले पनि आक्रामक ब्याटिंग गर्दै अविजित अर्धशतक बनाए । उनले मत्र २३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । अनिल र विवेकले तेश्रो विकेटको लागि मात्र ५४ बलमा १ सय ३८ रनको साझेदारी गरेका थिए ।
रुपनि राईडर्सको बलिंगमा अनिल यादवले २ विकेट लिए भने फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए ।
बुधबारको दिनको दोश्रो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ४ विकेटले पराजित गर्यो ।
टिभीएस किंग्स राजविराजले दिएको १ सय ४५ रनको लक्ष्य तिलाठी कोईलाडीले ६ विकेट गुमाएर १५.१ ओभरमा पुरा गरे ।
तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित २९ बलमा २ चौका र ८ छक्का प्रहार गरी ६५ रन बनाए । दिपेश कंडेलले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए । सन्तोष कार्कीले १८ रन बनाए । राशिद र दिपेशले सातौँ विकेटको लागि अविजित ८७ रनको साझेदारी गरे ।
टिभीएस किंग्सको बलिंगमा दिनेश अधिकारी र मेहबुब आलमले समान २ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनाएको थियो ।
टिभीएस किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाए जुन क्रममा ४६ बलमा ३ चौका र ९ छक्का प्रहार गरे। सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाए ।
तिलाठी कोईलाडीको बलिंगमा राशिद खान र दिपेश कंडेलले समान ३ विकेट, कप्तान दिपेन्द्र ऐरीले २ विकेट तथा मनिष मण्डलले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच राशिद खान चुनिए ।
प्रतियोगिता चौथो दिनको खेल समाप्ति पछि समान तिन खेलमा दुई जित र एक हार बेहोरेका बजाज खडक वारियर्स, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहिन बोदे बर्साईन थन्डर्स पाँचौ स्थानमा रहेको छ ।
लिग अन्तर्गत बिहिबार पनि दुई खेल खेलिनेछन ्। पहिलो खेलमा बिहान ९ बजे टिभीएस किंग्स राजविराज र रुपनी राईडर्स तथा दिउसो १ बजे सुरु हुने खेलमा बोदे बर्साईन थन्डर्स र तिलाठी कोईलाडीले प्रतिस्पर्धा गर्नेछन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?