Logo

विवाहको खर्च बचतबाट आमाबुवाको नाममा अक्षयकोष

Rato Pen २७ बैशाख २०७८, सोमबार २२:४८ मा प्रकाशित

बिबाह खर्चबाट बचत गरि स्व.बिष्णुकुमार श्रेष्ठ र मंगला देवी श्रेष्ठको नाममा एक लाख पचास हजारको “मंगलम–बिष्णु अक्षय कोष” को स्थापना गरिएको छ । गुलरिया नगरपालिका ६ बस्ने अंगद श्रेष्ठ, मेघमान श्रेष्ठ र शुभमान श्रेष्ठले छोरीहरुको विवाहको खर्चबाट बचत गरेर आमाबुवाको नामबाट आमाको जन्मदिनको अवसर पारेर अक्षयकोष स्थापना गर्नु भएको हो । प्रत्येक बर्ष बैशाख २५ गते उक्त कोषको रकमबाट प्राप्त ब्याज र अन्य रकम थप गरि महिला स्वास्थ्य स्वयंसेविका जो एकल महिलाको रूपमा हुनुहुन्छ उहाँका सन्तानहरूको अध्ययनका लागि खर्च गरिने ब्यहोरा घोषणा प्रेस बिज्ञप्ती मार्फत गरिएको छ ।

आमाले लामो समयसम्म गर्दै आउनु भएको महिला स्वास्थ्य स्वयंसेविका सेवा र सामाजिक अभियन्ताको रूपमा मानव अधिकारका लागि एकल महिला समूह बर्दियाको संस्थापक अध्यक्ष भई पुर्याउनु भएको योगदानको कदर गर्दै उक्त अक्षयकोषको स्थापना गरिएको छ । उक्त परिवारका छोरीहरू सुम्निमा श्रेष्ठ, अस्मिता श्रेष्ठ र अंकिता श्रेष्ठको बिबाह खर्चबाट बचत गरेर आमाको बैशाख २५ गते ७० बर्ष पूरागरि ७१ बर्षमा प्रवेश गर्नु भएकोमा जन्म दिनको अवसरमा अक्षयकोषको स्थापना गरेको छ ।

हाल एकल महिला जो स्वास्थ्य स्वयं सेविका हुनुहुन्छ उहाँहरू लाई समेटी अभियान संचालन गरिनेछ । रकम बृद्धि पश्चात अभियानलाई अझ व्यापक बनाईने बिज्ञप्तीमा उल्लेख रहेको छ । यस अभियान अन्तरगत छात्रबृति बितरणका लागि बर्दिया जिल्ला स्थित पत्रकार महासंघ, जिल्ला स्वास्थ्य कार्यालय, गैरसरकारी संस्था महासंघ, मानव अधिकारका लागि एकल महिला समूह र महिला स्वास्थ्य स्वयंसेविकाहरूको संजालको शिफारिसमा हरेक बर्ष बैशाख २५ गते छात्रबृति प्रदान गरिनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?