बर्दिया, — राष्ट्रिय धान दिवस–२०८३ को अवसरमा बारबर्दिया नगरपालिकाले "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने नारासहित बारबर्दिया नगरपालिका–२ नारायणपुरमा नगरस्तरीय धान रोपाइँ महोत्सव सम्पन्न गरेको छ। थारु परम्परा अनुसार विधिपुर्वक धारोपाई महोत्सवको उद्घाटन गरीएको थियो ।
बारबर्दिया नगरपालिका कृषि विकास शाखाको आयोजनामा तथा वडा नं. २ कार्यालय, नगरस्तरीय कृषक समन्वय समिति र वडा स्तरीय कृषक समूहको समन्वयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, कृषक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
आर्थिक विकास समितिका संयोजक रामफेरण थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु प्रमुख अतिथि रहेनु भएको थियो । कार्यक्रममा नगरउपप्रमुख रत्नकुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै परम्परागत कृषि संस्कृतिको संरक्षणसँगै आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोगलाई विस्तार गर्नुपर्नेमा जोड दिनु भएको थियो । धान उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।
नगरप्रमुख छबिलाल थारुले कृषिलाई नगरको समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्दै आधुनिक प्रविधि, सिँचाइ, उन्नत बीउ तथा कृषकमैत्री कार्यक्रममार्फत उत्पादन वृद्धि गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो। उहाँले जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न वातावरणमैत्री कृषि अभ्यासलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राख्नु भयो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र कृषकहरूले खेतमा रोपाइँ गर्दै राष्ट्रिय धान दिवसलाई उत्साहपूर्वक मनाउनु भएको छ । नगरपालिकाले कृषिको आधुनिकीकरण, खाद्य आत्मनिर्भरता र किसानको आय वृद्धि गर्ने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै दुई जना उत्कृष्ट कृषकहरुलाई पनि सम्मान गर्नु भएको छ ।