होमेन्द्र थापा, बर्दिया
मंसिर ५ गते
विश्व मत्स्य दिवस २०८३ को अवसरमा बर्दियाको बबई नदीमा १० हजार माछाका भुरा छाडिएको छ । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जलचर जैविक विविधता संरक्षण गर्ने उद्देश्यले एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले गुलरिया नगरपालिका–४ स्थित जब्दीघाटमा माछाका भुरा छाडेको हो ।
रहु र नैनी जातका माछाका भुरा नदीमा छाड्दै ‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने मूल नाराका साथ विश्व मत्स्य दिवस मनाइएको हो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले जलवायु परिवर्तनका कारण नदी, नाला, सिमसार क्षेत्र तथा जलचर प्राणीमा नकारात्मक असर देखिन थालेकाले त्यसको न्यूनीकरण र मत्स्य सम्पदा संरक्षणका लागि माछाका भुरा नदीमा छाडिएको बताउनुभयो ।
अनियमित वर्षा, नदीको बहावमा परिवर्तन, बाढी तथा खडेरीले माछाको प्राकृतिक बासस्थान र प्रजनन प्रक्रियामा प्रतिकूल असर पु¥याइरहेको उहाँले बताउनुभयो । त्यस्तै, अव्यवस्थित माछा मार्ने प्रवृत्ति, विषादी तथा विद्युतीय करेन्टको प्रयोग, नदी तथा जलाशयमा फोहोर र प्रदूषण विसर्जन तथा जथाभावी उत्खननले माछाको अस्तित्व सङ्कटमा परेको उहाँको भनाइ छ ।
प्रमुख अधिकारीले नदी, तालतलैया तथा प्राकृतिक जलाशयको संरक्षण र सरसफाइ, रैथाने तथा लोपोन्मुख माछाका प्रजाति र तिनको बासस्थान संरक्षण, विनाशकारी विधिबाट माछा मार्ने कार्य नियन्त्रण तथा माछाको प्रजनन र प्राकृतिक वृद्धिका समयमा संरक्षणका उपाय अपनाउन आवश्यक रहेको बताउनुभयो ।
नदीलाई स्वच्छ र जीवन्त बनाउँदै रैथाने माछाका प्रजातिको संरक्षण, मत्स्य कृषकको जीवनस्तर सुधार तथा बर्दियाको मत्स्य क्षेत्रलाई दिगो, व्यवस्थित र समृद्ध बनाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।