होमेन्द्र थापा, बर्दिया
७१औँ नेपाल प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा गुलरियामा रक्तदान कार्यक्रम गरिएको छ । पछिल्लो समय रगत चढाउनुपर्ने बिरामीको संख्या बढ्दै जाँदा स्वास्थ्य संस्थाहरूमा रगतको अभाव हुन थालेपछि त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले कार्यक्रममा ३ महिला ३८ पुरुष गरी जम्मा ४१ जना प्रहरीले रक्तदान गरेका बताउनु भयो । प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोहराले यस वर्ष ‘नेपाल प्रहरी विपद्को सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ नेपाल प्रहरी दिवस मनाइएको जानकारी दिनु भयो ।
उहाँले प्रहरी दिवस प्रहरी संगठनका लागि महत्त्वपूर्ण दिन भएकाले यस अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नुहुने प्रहरीहरुलाई धन्यवाद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।