बारबर्दिया — २०८३ मंशिर ७ गते । बारबर्दिया नगरपालिकाका ११ वटै वडामा कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिमा आधारित एक्स–रे सेवासहित सक्रिय क्षयरोग खोजपडताल (ACF) शिविर सञ्चालन हुने भएको छ। शिविर २०८३ मंसिर १७ गतेदेखि २७ गतेसम्म नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालन गरिनेछ।
क्षयरोगको समयमै पहिचान, निदान र उपचारमा पहुँच बढाउने उद्देश्यले सञ्चालन हुन लागेको शिविरमा AI X-Ray प्रविधिको प्रयोग गरी नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ। शिविरमार्फत क्षयरोगको सम्भावित जोखिम भएका व्यक्तिहरूको पहिचान गरी आवश्यक थप परीक्षण तथा उपचार प्रक्रियामा जोड दिइनेछ।
शिविर सञ्चालनसम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम नगरप्रमुख छबिलाल थारुको अध्यक्षतामा तथा नगर उपप्रमुख रत्नकुमारी पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्षहरू, सामाजिक विकास संयोजक, स्वास्थ्य कार्यालय बर्दिया, बीएनएमटी नेपाल (BNMT Nepal) का प्रतिनिधि तथा नगरका स्वास्थ्य संस्था प्रमुखहरूको सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा शिविरको प्रभावकारी सञ्चालन, नागरिकको सहभागिता, क्षयरोगको पहिचान तथा समयमै उपचारको महत्त्वबारे छलफल गरिएको थियो। स्वास्थ्य परीक्षणबाट रोग पहिचान भएका व्यक्तिलाई उपचारको दायरामा ल्याउँदै समुदायमा क्षयरोग संक्रमण फैलिन नदिन शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउन र क्षयरोग देखिएमा उपचारमा ढिलाइ नगर्न आग्रह गरेको छ।
शिविर विभिन्न स्वास्थ्य संस्थामा निम्न मितिमा सञ्चालन हुनेछ।
मिति | शिविर सञ्चालन हुने स्थान |
|---|---|
मंसिर १७ गते | पहाडीपुर आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. १ |
मंसिर १८ गते | कुमारगाउँ आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. २ |
मंसिर १९ गते | बानियाभार स्वास्थ्य चौकी, वडा नं. ३ |
मंसिर २० गते | पदनाहा स्वास्थ्य चौकी, वडा नं. ४ |
मंसिर २१ गते | जोगदहा आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ५ |
मंसिर २२ गते | बारबर्दिया नगर अस्पताल, वडा नं. ६ |
मंसिर २३ गते | सिउनिया आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ७ |
मंसिर २४ गते | जानफिना आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ८ |
मंसिर २५ गते | कटानिया आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ९ |
मंसिर २६ गते | धधवार स्वास्थ्य चौकी, वडा नं. १० |
मंसिर २७ गते | लम्कीफाँटा आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ११ |
नगरपालिकाले क्षयरोग नियन्त्रण तथा रोकथामका लागि नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।
“समयमै जाँच गरौँ, समयमै उपचार गरौँ। क्षयरोगमुक्त बारबर्दिया निर्माण गरौँ।”