बर्दिया, रोजगारी तथा श्रमका लागि रसुवाको भोटेकोशी क्षेत्रमा गएका बर्दियाका ७६ जना नागरिक बाढीपछि बेपत्ता भएको घटनाप्रति कृषि तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री मा. कृष्णा कुश्मा थारु ले गहिरो चासो व्यक्त गर्दै उद्धार, खोजी र पछिल्लो अवस्थाबारे सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहनुभएको छ।
मन्त्री थारुले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित जिल्ला प्रशासनसँग नियमित सम्पर्कमा रही बेपत्ता नागरिकको खोजी कार्य तीव्र बनाउन निर्देशन दिनुभएको छ। साथै, प्रभावित परिवारलाई सही सूचना उपलब्ध गराउने र आवश्यक सहयोगका लागि प्रदेश तथा स्थानीय तहसँग समेत समन्वय भइरहेको जनाइएको छ।
उहाँले बेपत्ता सबै नागरिकको सुरक्षित उद्धारको कामना गर्दै राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ।