मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |
मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल

Rato Pen 344+ समाचार ( )
२५ श्रावण २०८३, सोमबार


बर्दिया । ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका समग्र कार्यक्रम, सेवा प्रवाह, विकास गतिविधि तथा उपलब्धिको वार्षिक समीक्षा गर्नुका साथै आगामी १० वर्षका लागि तयार पारिएको पर्यटन गुरुयोजनाको मस्यौदा प्रस्तुत गरेको छ।

ठाकुरबाबा नगरपालिका–सैनवारस्थित सभाहलमा सोमबार आयोजित कार्यक्रममा नगरपालिकाको समग्र अवस्थाबारे प्रस्तुति गरिएको थियो। कार्यक्रममा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, न्यायिक समिति, सामाजिक सुरक्षा, अपाङ्गता, सुशासन तथा सेवा प्रवाहलगायतका विभिन्न क्षेत्रमा भएका प्रगति, उपलब्धि, समस्या तथा आगामी योजनाबारे जानकारी गराइएको थियो।

आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाबाट सञ्चालन तथा सम्पन्न भएका कार्यक्रम र योजनाको प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का नीति, कार्यक्रम तथा बजेटका विषयमा समेत जानकारी गराइएको थियो।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले वार्षिक समीक्षा कार्यक्रमले नगरपालिकाले एक वर्षमा गरेका कामको उपलब्धि र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्न महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। उहाँले विगतका अनुभव र सिकाइलाई आधार बनाएर आगामी दिनमा विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउँदै लैजाने बताउनुभयो।

नगरप्रमुख लम्सालले नगरपालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउँदै सीमित स्रोत–साधनको अधिकतम उपयोग गरी नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ठाकुरबाबाको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउने गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताउनुभयो।

नगरपालिकाका उपप्रमुख विना कुमारी भट्टराईले वार्षिक समीक्षा उपलब्धि प्रस्तुत गर्ने माध्यम मात्र नभई आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले नगरपालिकाका सेवा तथा विकासका कार्यक्रमलाई नागरिकको आवश्यकता र प्राथमिकतासँग जोड्नुपर्ने बताउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायका सवाललाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राख्नुभयो।

उपप्रमुख भट्टराईले नगरपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र तथा स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताउँदै योजना निर्माणदेखि कार्यान्वयनसम्म नागरिकको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाबाट सम्पादन भएका समग्र कार्यक्रम तथा गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रतिवेदन प्रस्तुत गर्दै रिजालले नगरपालिकाले एक वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, न्यायिक सेवा, सुशासन तथा नागरिक सेवा प्रवाहलगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभयो। उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै कार्यान्वयनका क्रममा देखिएका कमजोरी र चुनौतीलाई आगामी दिनमा सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।

“वार्षिक समीक्षा विगतमा के–कति काम भयो भनेर तथ्याङ्क प्रस्तुत गर्ने मात्र विषय होइन, हामीले गरेका कामको प्रभावकारिता कस्तो रह्यो, कहाँ सुधार गर्न आवश्यक छ र आगामी दिनमा कसरी अझ राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने समीक्षा गर्ने अवसर पनि हो,” रिजालले भन्नुभयो।

उहाँले नगरपालिकाका शाखा तथा वडाबाट सम्पादन भएका कार्यक्रमको प्रगति, सेवा प्रवाहको अवस्था तथा विभिन्न क्षेत्रमा हासिल भएका उपलब्धिलाई तथ्याङ्कसहित प्रस्तुत गर्दै आगामी कार्यक्रम कार्यान्वयनमा समन्वय, पारदर्शिता र प्रभावकारी अनुगमनलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो।

रिजालका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि २०८२/०८३ सम्म नगरपालिकाको न्यायिक समितिमा ३०२ वटा विवाद दर्ता भएका छन्। तीमध्ये २६८ वटा फछ्र्यौट भएका छन् भने ३४ वटा विवाद तामेलीमा रहेका छन्।

त्यसैगरी, २०८२ साल चैत मसान्तसम्म नगरपालिकामा ९२० जना अपाङ्गता भएका व्यक्तिको विवरण रहेको छ। स्वास्थ्य सेवातर्फ ओपीडी सेवा ४६ हजार ७५ जना, आकस्मिक सेवा २ हजार २०४ जना, एक्स–रे सेवा २ हजार १३८ जना, ज्येष्ठ नागरिक घरदैलो सेवा ४ हजार ८८९ जना, निःशुल्क गर्भवती यूएसजी सेवा २९१ जना र साप्ताहिक विशेषज्ञ सेवा २ हजार २०० जनाले लिएका छन्। सर्पदंश उपचार सेवा ३१ जना र स्वास्थ्य बीमा सेवा १२ हजार ५२३ जनाले लिएको विवरणसमेत प्रस्तुत गरिएको थियो।

पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना

कार्यक्रमकै अवसरमा ठाकुरबाबा पर्यटन गुरुयोजना २०८३/०८४–२०९२/०९३ को मस्यौदा प्रस्तुत गरी सहभागी तथा सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको थियो।

ठाकुरबाबा नगरपालिकामा बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, ठाकुरद्वारा मन्दिर, थारु संग्रहालय, ३२ भन्दा बढी होमस्टे, १५ होटल तथा १३ रिसोर्टलगायत महत्वपूर्ण पर्यटकीय आधार रहेका छन्। नगरपालिकामा वार्षिक करिब २८ हजार पर्यटक आउने तथ्याङ्कसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।

गुरुयोजनाले नगरपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको पहिचान गरी पर्यटन पूर्वाधारको विकास, होमस्टे तथा स्थानीय उत्पादनको प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक पर्यटनको संरक्षण र प्रवर्द्धन, पर्यटकको बसाइ अवधि वृद्धि तथा स्थानीय रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सरोकारवालाले नगरपालिकाको वार्षिक प्रगति तथा पर्यटन गुरुयोजनाको मस्यौदामाथि सुझाव तथा धारणा राखेका थिए। प्राप्त सुझावलाई समेटेर पर्यटन गुरुयोजनालाई अन्तिम रूप दिई कार्यान्वयनमा लैजाने नगरपालिकाले जनाएको छ।

कार्यक्रम ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपप्रमुख विना कुमारी भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, नौवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि तथा नगरपालिकाका कर्मचारीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार