बारबर्दिया
बारबर्दिया नगरपालिकाका विद्यालयका बिषयगत शिक्षकहरुका लागि शिक्षण आपुरण तथा द्रुत सिकाई योजना (Real Plan) सम्बन्धी ३ दिन तालिम शुरु भएको छ । कोभिड १९ महामारी तथा विविध कारणले विद्यार्थीहरुमा भएको सिकाई क्षतिलाई परिपुर्ति गर्नका लागि आपुरण तथा द्रुत सिकाई योजना निर्माणका तालिमको आयोजना गरिएको हो ।
बारबर्दिया ६ जयनगरको श्रोत केन्द्रको सभाहलमा बुधबार देखि सुक्रबार सम्म संचालन भईरहेको तालिममा विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने उदेश्य रहेको छ । बारबर्दिया नगरपालिकामा रहेको ४० वटा सामुदायिक विद्यालयबाट एकएक जना शिक्षकहरु गरी ४० जनाको सहभागिता रहेको छ ।
तालिमको सहजिकरण बारबर्दिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकानाथ गोसाईले गरिरहनु भएको छ । तालिममा योजना निर्माणका लागि विश्व र नेपालमा सिकाई क्षतिको अवस्था, सिकाई स्तर पहिचान गर्न तरिका र साधनको परिचय र प्रयोग, सिकाई स्तर पहिचान गर्न साधनको प्रयोग विधि, साधानको प्रयोग गरी विद्यार्थीको सिकाइ परिक्षण अभ्यास, साधनको प्रयोग गरी विद्यार्थीको सिकाई स्तर परिक्षण अभ्यास, विद्यार्थी सिकाई स्तरको अभिलेखिकरण र रिपोर्टिङ, नतिजा विश्लेषण र वर्गीकरण नतिजा विश्लेषण र विषयबस्तुको छनौट, सिकाई आवश्यकता आधारमा क्रियाकलाप छनोट र प्रयोग, कार्यान्वयनको योजना निर्माण र कार्यान्वयन, द्रुत सिकाईको परिचय, रणनीतिहरुको पहिचान र प्रयोग तथा कार्ययोजना निर्माणको बिषयमा तीन दिन सम्म प्रस्तुती तथा छलफल गरी योजना निर्माण गरिने छ ।
तालिम उद्घाटन कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले तालिमको उद्घाटन गर्न भएको छ । तालिमको उद्घाटन गर्दै बारबर्दिया नगरपालिकामा शिक्षा क्षेत्रमा सुधार हुदै गएको बताउनु भएको छ । यस बर्षको भर्ना अभियान उत्साहजनक भएको र एक खालको प्रतिस्पर्धा जस्तै देखियो आफ्नो विद्यालयमा विद्यार्थी भर्नाका लागि सकारात्मक भएको बताउनु भएको छ । साथै तालिमको तीन दिने बसाईले समारात्मक सन्देश दिएर उपलब्धीमुलक हुने विश्वास ब्यक्त गर्नु भएको छ ।
तालिममा बारबर्दिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले तालिमलाई उपलब्धीमुलक बनाउन आग्रह गर्नु भएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि तालिमले सहयोग पुर्याउने अपेक्षा लिनु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत बारबर्दिया नगरपालिकाको समन्वयमा तालिम संचालन भईरहेको छ । तालिमको उद्घाटन कार्यक्रममा राधा कृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल, कार्यक्रम अधिकृत संजय चौधरी लगाएतको सहभागिता रहेको परियोजनाकी कार्यक्रम अधिकृत सिमा वलीले जानकारी गराउनु भएको छ ।