विद्यालय तथा समुदायस्तरमा पूर्वानुमानमा आधारित पूर्वकार्य (Forecast-based Early Action) तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बर्दियाको मधुवन नगरपालिका–१, सूर्यपटुवास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा सडक नाटक कार्यक्रम सम्पन्न भएको छ।
विश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोग, सप्रोस नेपालको प्राविधिक सहयोग तथा मधुवन नगरपालिकाको शिक्षा शाखा र विपद् व्यवस्थापन शाखाको समन्वयमा श्री त्रिभुवन माध्यमिक विद्यालय र वडा नं. १ को आयोजनामा मंगलबार सडक नाटक प्रदर्शन गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख धर्मराज डाँगी, शिक्षा शाखाका प्राविधिक सहायक लसेन्द्रबहादुर सिंह तथा प्राविधिक शाखाका सब–इन्जिनियर शेरबहादुर खड्काको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर सुनार, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सडक नाटकमार्फत बाढी आउनुअघि उपलब्ध हुने मौसम तथा बाढीसम्बन्धी पूर्वानुमान र पूर्वसूचनालाई समयमै बुझी त्यसका आधारमा आवश्यक पूर्वतयारी तथा पूर्वकार्य गर्न सकिने सन्देश प्रवाह गरिएको थियो। विपद् आउनुअघि नै जोखिम न्यूनीकरणका लागि समुदाय, विद्यालय तथा परिवारले अपनाउन सक्ने व्यवहारिक उपायहरूलाई विद्यार्थीहरूले सडक नाटकमार्फत सरल, प्रभावकारी र सन्देशमूलक ढंगले प्रस्तुत गरेका थिए।
विशेषगरी बाढीको सम्भावित जोखिमबारे समयमै जानकारी प्राप्त गर्ने, आवश्यक सामग्री तथा सुरक्षित स्थानको पहिचान गर्ने, परिवार तथा समुदायमा सूचना आदानप्रदान गर्ने र सम्भावित क्षति न्यूनीकरणका लागि समयमै कदम चाल्ने विषयलाई नाटकमा प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।
कार्यक्रमले विद्यार्थी तथा समुदायमा “विपद् आएपछि उद्धार गर्नुभन्दा विपद् आउनुअघि नै पूर्वसूचना बुझेर पूर्वकार्य गर्नु प्रभावकारी हुन्छ” भन्ने सन्देश प्रवाह गर्दै विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।