बर्दिया
३०औं वन्यजन्तु संरक्षण सप्ताहको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले स्थानीय सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “बुझौं वन्यजन्तुको आनीबानी, घटाऔं मानव–वन्यजन्तु द्वन्द्व र हानि–नोक्सानी” भन्ने नारासहित मनाइएको सप्ताहको अन्तिम दिन आयोजना गरिएको यस कार्यक्रममा सञ्चारकर्मीहरूसँग संरक्षणबारे गहन छलफल गरिएको हो ।
कार्यक्रममा निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले वन्यजन्तु संरक्षणमा सञ्चारमाध्यमको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले सञ्चारकर्मीहरूलाई संरक्षणका विषयमा तथ्यगत, सकारात्मक र जनचेतनायुक्त सामग्री निर्माणमा साथ दिन आह्वान गर्नुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज जैविक विविधता, वन्यजन्तु संरक्षण र सामुदायिक सहभागिताको उत्कृष्ट नमूनाका रूपमा स्थापित हुँदै आएको छ । सन् १९८८ मा स्थापना भएको निकुञ्ज हाल ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ भने ५०७ वर्ग किलोमिटर क्षेत्र मध्यवर्ती क्षेत्रका रूपमा छुट्याइएको छ । लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गत बर्दिया, बाँके र सुर्खेतका विभिन्न स्थानीय तहहरू यो क्षेत्रमा पर्दछन् ।
निकुञ्जमा १२० भन्दा बढी जंगली हात्ती, १२५ वटा बाघ सन् २०२२ को गणना अनुसार, ३८ वटा गैंडा, १५–२१ वटा घडियाल गोही, ९४ वटा बाह्रसिंगा लगायत विभिन्न संकटग्रस्त वन्यजन्तुहरू पाइन्छन् । कर्णाली र बबई नदीको सौन्दर्य, डल्फिनको उपस्थिति, चुरे क्षेत्र र घाँसे मैदानको जैविक विविधताले यो क्षेत्रलाई पर्यावरणीय दृष्टिले अतिमूल्यवान बनाएको छ ।
निकुञ्जले चोरीसिकार नियन्त्रण, वन्यजन्तु उद्दार, वासस्थान संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, संरक्षण शिक्षा, पर्यापर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । हाल १,११७ हेक्टर घाँसे मैदान मात्र बाँकी रहेकाले यसको विस्तार र संरक्षणमा विशेष प्रयास गरिँदैछ ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण पनि निकुञ्जको प्रमुख चुनौतीमध्ये एक हो । २०८१ चैत मसान्तसम्म १,५४८ वटा क्षति विवरणहरू संकलित गरिएका छन् र १ करोड १७ लाख रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । द्वन्द्व न्यूनीकरणका लागि सोलार फेन्सिङ, आरसीसी मेष जाली लगायतका उपायहरू अपनाइएका छन् ।
हाल निकुञ्ज सुरक्षाका लागि १६९ जना कर्मचारी र जबरजंग गणअन्तर्गत ८०० भन्दा बढी नेपाली सेना परिचालित छन् । वन्यजन्तु उद्दारका लागि सरकारी हात्ती, एम्बुलेन्स र विशेषज्ञ टोलीहरू सक्रिय छन् ।
निकुञ्जको संरक्षणमा स्थानीय समुदायहरूको सशक्त सहभागिता छ । १० वटा उपभोक्ता समिति, २६३ उपभोक्ता समूह, १४६ सामुदायिक वन समूह, १९ वटा ऋद्यब्एग् उपसमिति र ३३०० युवा स्वयंसेवक सक्रिय रूपमा संलग्न छन् । संरक्षित क्षेत्रबाट प्राप्त आम्दानीको ३०–५० प्रतिशतसम्म स्थानीय विकास र संरक्षणमा लगानी गरिन्छ ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले संरक्षण क्षेत्रमा सञ्चारको भूमिका अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज केवल वन्यजन्तुको आश्रयस्थल मात्र नभई वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय समृद्धिको आधार भएको भन्दै सहभागीहरूले यसको दीगो संरक्षणका लागि संयुक्त प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षण अब सम्पूर्ण समुदायको साझा जिम्मेवारी बनेको छ ।