मधुवन, बर्दिया
मधुवन नगरपालिका नगरस्तरीय सहकारी सञ्जालको आयोजनामा रसुवा बाढी पीडितप्रति ऐक्यबद्धता तथा राहत सहयोग सम्बन्धी संयुक्त बैठक नगरस्तरीय सहकारी सञ्जालका अध्यक्ष गोपाल प्रसाद पौडेलको सभापतित्व तथा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बैठकले रसुवाको विनाशकारी बाढीमा ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, उपचार र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गर्ने निर्णय गरेको छ।
संयुक्त बैठकले विपद्को घडीमा सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मधुवन नगरपालिका भित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरूबाट स्वेच्छिक रूपमा नगद संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गर्ने सर्वसम्मत निर्णय गरेको छ।
प्रमुख अतिथि उपप्रमुख अनिता चौधरीले दुःखको यस घडीमा सहकारीहरूको एकता र मानवीय सहयोग अनुकरणीय रहेको बताउँदै सबै संस्थालाई राहत अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो। कार्यक्रममा नगरभित्रका विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।