बर्दियाको मधुवन नगरपालिकाले पूर्वानुमानमा आधारित पुर्वकार्य परियोजनाबाट नगद सहायता कार्यक्रम अन्तर्गत वडा नं १, २ र ३ का कर्णाली नदि तटीय क्षेत्रका १ हजार १ सय ८१ लाभग्राही परिवारको अन्तिम सूची अनुमोदन गरेको छ।
नगरपालिकाका अनुसार संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम (यूएन–डब्लुएफपी) को आर्थिक सहयोग, सप्रोस नेपाल, काठमाडौंको सहजीकरण तथा नगरपालिकाको समन्वय तथा सहकार्यमा विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत मापदण्ड २०८१ र पुर्वानुमानमा आधारित पुर्व कार्य ढाँचा २०८३ अनुसार लाभग्राही छनोट, प्रमाणीकरण र गुनासो व्यवस्थापन प्रक्रिया पूरा भएपछि उक्त सूची राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको हो।
अनुमोदित विवरणअनुसार वडा नम्बर १ मा ५०९, वडा नम्बर २ मा ४५३ र वडा नम्बर ३ मा २१९ परिवार गरी कुल १ हजार १ सय ८१ परिवार लाभान्वित हुनेछन्। यस कार्यक्रमका लागि कुल ५९ लाख ५ हजार रुपैयाँ बराबरको नगद सहायता स्वीकृत गरिएको नगरपालिकाले जनाएको छ।