बर्दिया । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै मधुवन नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले आफूले पाउने सेवा–सुविधाबाट सहयोग गर्ने निर्णय गरेका छन्।
मधुवन नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले नगर प्रमुख र उपप्रमुखले १० दिन, वडा अध्यक्षहरूले ७ दिन, कार्यपालिका सदस्यहरूले ५ दिन तथा नगर सभा सदस्यहरूले २ दिन बराबरको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
त्यसैगरी, नगरपालिकाका कर्मचारीहरूले नेपाल सरकारबाट हुने निर्णयअनुसार राहत कोषमा सहयोग गर्ने निर्णयसमेत गरिएको नगर प्रवक्ता मेकबहादुर गुरुङले जानकारी दिनुभयो।
बैठकले बाढीपीडितका लागि संकलन हुने राहत तथा सहयोगलाई प्रभावकारी, पारदर्शी र वास्तविक पीडितसम्म सहज रूपमा पुर्याउन ‘एकद्वार राहत प्रणाली’लाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। सोहीअनुसार सम्बन्धित वडा कार्यालयमार्फत राहत संकलन, समन्वय तथा वितरणको व्यवस्था मिलाउन नगरवासीलाई आग्रह गरिएको छ।
विपद्को पीडा साझा हो, सहयोगको भावना पनि साझा हुनुपर्छ भन्ने मान्यताका साथ मधुवन नगरपालिकाले रसुवा लगायत बाढी प्रभावित क्षेत्रका नागरिकको सहयोगका लागि इच्छुक सम्पूर्ण नगरवासीलाई एकद्वार प्रणालीमार्फत राहत सहयोग उपलब्ध गराउन आह्वान गरेको छ।
नगर प्रवक्ता गुरुङका अनुसार विपद्को यस कठिन घडीमा स्थानीय सरकार पीडित नागरिकको साथमा रहेको अनुभूति दिलाउन तथा राहत कार्यलाई थप व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो।
मधुवन नगरपालिकाको यो निर्णयले “जनताको दुःखमा स्थानीय सरकार पनि सँगै छ” भन्ने मानवीय र संवेदनशील सन्देश दिएको छ। मधुवनबाट करिब १५ लाख सम्म सहयोग पठाउने नगरप्रबक्ता गुरुङले जानकारी गराउनु भएको छ ।