होमेन्द्र थापा, बर्दिया
बेतबाँसका सामग्री बनाउने सीप सिक्दै गर्दा बर्दियाका अपाङ्गता भएका व्यक्तिहरूमा आत्मनिर्भर बन्ने आशा बढेको छ। पहिलोपटक प्रत्यक्ष आयआर्जनमा जोडिन सक्ने सीप सिक्न पाएको भन्दै तालिममा सहभागीहरू उत्साहित छन्।
बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रको आयोजना, आरआरएनको आर्थिक सहयोग तथा बढैयाताल गाउँपालिकाको समन्वयमा सञ्चालन भइरहेको २१ दिने तालिममा जिल्लाका चार स्थानीय तहका २० जना अपाङ्गता भएका व्यक्ति सहभागी छन्। गुलरिया र बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँपालिकाबाट सहभागीहरू तालिममा आएका हुन्।
तालिममा सहभागीहरूले स्थानीयस्तरमै पाइने बेतबाँसको प्रयोग गरी विभिन्न सामग्री बनाउन सिकिरहेका छन्। भान्सा मुढा, सादा मुढा, हाप स्टिक चियर, फूलदानी तथा किताब ¥याकलगायतका सामग्री निर्माणको अभ्यास भइरहेको छ।
बढैयाताल गाउँपालिका–७ की अल्का रैदास तालिममा सहभागी भएको १० दिन भइसकेको बताउनुहुन्छ। छोटो समयमै विभिन्न सामग्री बनाउन सिकेको उहाँको भनाइ छ। यो तालिम केवल सीप सिक्ने अवसर मात्र होइन, भविष्यमा आफैं आम्दानी गर्ने आधार पनि हो। आर्का सहभागी इच्छा चौधरीले “कसैसँग पैसाका लागि हात थाप्न नपरोस् भनेर सीप सिक्न आएकी हुँ,” उहाँले भन्नुभयो, “तालिमपछि घरमै बेतबाँसका सामग्री उत्पादन गरी बिक्री गर्ने र आयआर्जन गर्ने योजना रहेको चौधरीले बताउनुु भयो ।
अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालिम दिएर स्थानीय स्रोतसाधनको प्रयोगमार्फत सामग्री उत्पादन तथा बिक्री गर्न सक्षम बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकको भनाइ छ।
बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाका अनुसार विशेषगरी सुनाइ तथा बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी बेतका सामग्री निर्माणको सीप प्रदान गरिएको हो। तालिमपछि सहभागीहरूले सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न सक्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
स्थानीयस्तरमा उपलब्ध बेतको उपयोग गरी सामग्री उत्पादन गर्न सिकाइएकाले तालिमपछि सहभागीले घरमै बसेर पनि आयआर्जन गर्न सक्ने आयोजकको विश्वास छ। तर सीप सिकेपछि उत्पादन गरिएका सामग्रीको बजार व्यवस्थापन भने चुनौतीका रूपमा देखिएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बर्दियामा १४ हजार ८३९ जना अपाङ्गता भएका व्यक्ति छन्। जनगणनाको तथ्यांकअनुसार जिल्लामा शारीरिक, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी, बौद्धिक, मनोसामाजिक तथा अन्य विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति छन्।
तथ्यांकअनुसार बर्दियामा पाँच हजार ३२५ जना शारीरिक अपाङ्गता भएका, तीन हजार ३७९ जना न्यून दृष्टियुक्त, एक हजार ४६८ जना न्यून श्रवण शक्ति भएका, एक हजार २१० जना बहुअपाङ्गता भएका तथा एक हजार १४ जना सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति छन्। त्यस्तै ६६४ जना दृष्टिविहीन, ६५४ जना मनोसामाजिक तथा मानसिक समस्या भएका, १९७ जना बौद्धिक अपाङ्गता भएका, ८६ जना अटिजम भएका र ६२ जना हेमोफिलिया भएका व्यक्ति रहेको तथ्यांकमा उल्लेख छ।
अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक संरक्षणसँगै सीप र रोजगारीका अवसर सिर्जना गर्न सके उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्न सक्छ। स्थानीय स्रोतसाधनको उपयोग गर्दै सञ्चालन गरिएको बेतबाँस सामग्री निर्माण तालिम सहभागीका लागि सीप सिक्ने अवसर मात्र नभई आफ्नै खुट्टामा उभिने प्रयासको सुरुवात बनेको छ।
अब उनीहरूको चुनौती भनेको तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादन गरेका सामग्रीको बजार सुनिश्चित गर्नु हो। उत्पादन, बजारीकरण र निरन्तर सहयोगको वातावरण बन्न सके यस्ता सीपले अपाङ्गता भएका व्यक्तिको आयआर्जन र आत्मनिर्भरतामा थप योगदान पु¥याउन सक्छ।