होमेन्द्र थापा, बर्दिया
आधुनिक चिकित्सा सेवाको पहुँच विस्तार हुँदै गए पनि परम्परागत जडीबुटी उपचारप्रति नागरिकको विश्वास अझै कायम छ। बर्दियाको बाँसगढी नगरपालिका–४ बठुवाका वैद्य रजमान थारु यस्तै परम्परागत उपचार पद्धतिलाई निरन्तरता दिँदै स्थानीयदेखि देशका विभिन्न जिल्लाका सेवाग्राहीलाई जडीबुटी उपचार सेवा प्रदान गर्दै आउनुभएको छ।
रजमान थारुका अनुसार उहाँको परिवारमा पुस्तौँदेखि जडीबुटी उपचार गर्ने परम्परा रहँदै आएको छ। बाजे र बुबापछि दिदीले उपचार सेवा सञ्चालन गर्नुभयो भने हाल रजमान स्वयं र उहाँका छोराले यो परम्परालाई अघि बढाइरहनुभएको छ। उहाँले २०६८ साल भदौ १२ गते घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ता गरी प्यान नम्बर समेत प्राप्त गर्नुभएको जानकारी दिनुभयो।
बाल्यकालदेखि नै जडीबुटीको पहिचान र प्रयोग सिक्दै आउनुभएका थारु भन्नुहुन्छ, “बाजे र बुबाले जंगल तथा खेतबारीबाट जडीबुटी ल्याउन पठाउनुहुन्थ्यो। त्यसै क्रममा विभिन्न जडीबुटी चिन्ने र प्रयोग गर्ने सीप सिक्दै गएँ।”
हाल उहाँले ग्यास्ट्रिक, अल्सर, बवासीर, जण्डिस, घाउखटिरा, सर्प तथा बिच्छीको टोकाइलगायत विभिन्न स्वास्थ्य समस्याका लागि जडीबुटी उपचार सेवा प्रदान गर्दै आउनुभएको बताउनुहुन्छ। यद्यपि यस्ता उपचारको प्रभावकारिता सम्बन्धित रोग, बिरामीको अवस्था र वैज्ञानिक परीक्षणका आधारमा फरक हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको भनाइ छ।
रजमान थारुको घरमा दैनिक १२ देखि १५ जना सेवाग्राही उपचारका लागि आउने गरेका छन्। कतिपय दिन एक सयभन्दा बढी व्यक्ति पुग्ने गरेको उहाँको भनाइ छ। त्यस अवस्थामा उहाँसँगै छोरा र बुहारी समेत सेवामा खटिने गरेका छन्। उपचारका लागि काठमाडौँ, चितवन, सुर्खेत, कैलाली, जाजरकोट तथा भारतका विभिन्न स्थानबाट समेत मानिसहरू आउने गरेको उहाँ बताउनुहुन्छ।
उहाँले प्रयोग गर्ने धेरैजसो जडीबुटी आफ्नै खेतबारीमा उत्पादन गर्ने गर्नुभएको छ। अमाइजक, कस्तुरी, गुर्जो, कालो बेसार, सर्पगन्धा, विजयसाल, हर्रो, अर्जुनलगायतका विभिन्न जडीबुटी तथा औषधीय गुण भएका वनस्पति उहाँले संरक्षण र खेती गर्दै आउनुभएको छ। आवश्यक परेका बेला जंगलबाट संकलन गर्ने वा अन्य व्यक्तिमार्फत ल्याउने व्यवस्था समेत मिलाइने गरेको छ।
स्थानीयवासीका अनुसार आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने बिरामीको खबर पाएपछि रजमान थारु आफै घरमै पुगेर निःशुल्क सेवा दिने गर्नुहुन्छ। यही कारणले उहाँप्रति समुदायको विश्वास बढ्दै गएको छ।
बाँसगढी नगरपालिका–५ की राधा शाहाले आफ्नो खुट्टामा समस्या देखिएपछि विभिन्न स्थानमा उपचार गराउँदा पनि निको नभएको बताउनुहुन्छ। आर्थिक अवस्था कमजोर भएपछि थप उपचार सम्भव नभएको अवस्थामा रजमान थारुले घरमै पुगेर जडीबुटी उपचार गरेको र त्यसपछि स्वास्थ्यमा सुधार आएको उहाँको अनुभव छ।
त्यस्तै बाँसगढी–४ की बिन्ती थारुले श्रीमानलाई सर्पले टोकेपछि रजमान थारुको उपचारबाट स्वास्थ्य अवस्था सामान्य बनेको बताउनुभयो। सोही गाउँकी कल्पना चौधरीले लामो समयसम्म गर्भधारणमा समस्या भएपछि जडीबुटी सेवन गरेको र त्यसपछि सन्तान प्राप्त भएको अनुभव सुनाउनुभयो।
स्थानीय कमलप्रसाद अधिकारीका अनुसार उपचारका लागि विभिन्न स्थानबाट आउने व्यक्तिहरूले रजमान थारुको घरको बाटो सोध्ने गर्छन्। “गाउँमै बसेर उहाँले दिइरहनुभएको सेवाका कारण बाहिरबाट समेत मानिसहरू यहाँ आइरहेका छन्,” अधिकारीले भन्नुभयो।
आधुनिक चिकित्सा प्रणालीसँगै नेपालका विभिन्न समुदायमा परम्परागत ज्ञान र जडीबुटी उपचार पद्धति पनि जीवित छ। बर्दियाका रजमान थारुले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यही ज्ञानलाई संरक्षण गर्दै सेवा प्रदान गरिरहनुभएको छ। स्थानीयस्तरमा यसको महत्व कायम रहे पनि यस्ता उपचार पद्धतिको वैज्ञानिक अध्ययन, अभिलेखीकरण र संरक्षण आवश्यक देखिन्छ।