होमेन्द्र थापा, बर्दिया
आउँदै गरेको विजया दशमीलाई हर्षोल्लासका साथ मनाउने उद्देश्यले बर्दियाको गुलरियामा राष्ट्रिय कलाकारसहितको सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। ब्ल्याकबक क्लब गुलरिया, बर्दियाको आयोजनामा आगामी कार्तिक १ गते अष्टमीका दिन गुलरियास्थित राधाकृष्ण चोकमा सांस्कृतिक कार्यक्रम हुने भएको हो। कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरू ऐलिना चौहान, करण परियार र अञ्जली अधिकारीको सांगीतिक प्रस्तुति रहनेछ। त्यसैगरी बुटवल र सुर्खेतका दुईवटा ब्यान्डको समेत प्रस्तुति रहने कार्यक्रम संयोजक धिरेन्द्र कुमार बी.सी.ले जानकारी दिनुभयो।
सोमबार ब्ल्याकबक क्लब गुलरिया, बर्दियाले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी सांस्कृतिक कार्यक्रमबारे जानकारी गराएको हो। आयोजकका अनुसार कार्यक्रमका लागि करिब ७ देखि १० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ।
क्लबका अध्यक्ष विमल के.सी.का अनुसार कार्यक्रमबाट बचत भएको रकम क्लबको अधुरो जिम व्यवस्थित गर्न प्रयोग गरिनेछ। साथै, आर्थिक अभावका कारण जिम जान नसक्ने इच्छुक व्यक्तिहरूलाई निःशुल्क जिम सेवा उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो।
सांस्कृतिक कार्यक्रमका लागि २४ फिट × २४ फिटको टेन्ट तथा करिब २०० वर्गफिटको एलईडी स्क्रिन राखिने आयोजकले जनाएको छ। दशैंको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमले स्थानीयस्तरमा मनोरञ्जनसँगै सांस्कृतिक वातावरण निर्माण गर्ने अपेक्षा आयोजकले गरेको छ।