शसस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका बर्दिया जिल्लाका अमर बहादुर बुढाको परिवारले आज २३ वर्षपछि उहाँको अन्तिम संस्कार गरेको छ । ठाकुरबाबा नगरपालिका–८ सुतैयाका बुढाको अन्तिम संस्कार वैशाख ३ गते बुधबार, कुंशको शव बनाएर हिन्दु संस्कार अनुसार प्रतिकात्मक शव बनाई गरेको हो ।
बि.सं. २०५८ फागुन २७ गते बिहान ५ बजे, नेपाली सेनाको बरखदल गुल्मबाट आएको टोलीले उहाँलाई घरमै घेरा हाली गिरफ्तार गरेको थियो । त्यसयता उहाँको अवस्था अहिलेसम्म अज्ञात छ । परिवारले राज्यले सत्यतथ्य पत्ता लगाई फेरि फर्किनु हुन्छ भन्ने आशमा दशकौंसम्म मृत्युसंस्कार नगरेको भए पनि, अन्ततः सामाजिक, आर्थिक र कानुनी समस्याका कारण बाध्य भई आज अन्तिम संस्कार गरिएको छ ।
दैलेख जिल्लाको बाँसीमा २०१८ सालमा जन्मिएका अमर बुढा नेपाली सेना हुँदै गाउँको समाजसेवी बन्नु भएको थियो । २०३६ सालमा सेनामा भर्ना भएका बुढाको जागिर राजनीतिक आरोपका कारण छुटेको थियो । त्यसपछि भारतमा रोजगारी गर्नुपर्ने अवस्था रह्यो । गाउँ फर्केपछि एमालेका सक्रिय कार्यकर्ता बनेका बुढा २०५४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष समेत निर्वाचित हुनुभएको थियो ।
२०५८ सालको फागुन २६ गते माओवादी नेता अजित शाह, बुढाको घरमा आउनु भएको थियो । भोलिपल्ट बिहान सुरक्षाकर्र्मीे दुबैलाई एकै साथ गिरफ्तार गरी लगेको थियो । त्यसपछि बुढाको कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
परिवारमा श्रीमती जमुना बुढा, एक छोरा र दुई छोरी रहनु भएको छ । श्रीमती जमुना लामो समयसम्म विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुँदै समाजसेवामा संलग्न रहनु भयो । अहिले भने सबै जिम्मेवारी छोडेर एक्लै घरमै बसिराख्नु भएको छ । परिवारको अवस्था निकै कठिन रहेको छ ।
नेपाल सरकारबाट केही राहत प्राप्त भए तापनि, सत्यतथ्य सार्वजनिक नहुनु पीडित परिवारको मुख्य पीडा हो । २०७३ सालमा बेपत्ता छानबिन आयोगमा उजुरी दिए पनि कुनै ठोस प्रगति नभएको परिवारको भनाइ छ ।
यस वर्ष मात्र गत चैत महिनामा चार जना पीडित परिवारले बेपत्ता आफन्तको कुंशको शव बनाएर प्रतिकात्मक अन्त्येष्टि गर्नु भएको छ । यो क्रम अझै जारी छ, जसले द्वन्द्वकालीन पीडाका गहिरा पाटा उजागर गरिरहेको छ ।
अमर बुढाको श्रीमती जमुना भन्नुहुन्छ, “हामीले २३ वर्ष पख्र्यौं, तर अब बाध्य भयौं । हाम्रो माग सत्यतथ्य सार्वजनिक हो, अनि छोरा–छोरीको भविष्य सुरक्षित होस्, न्याय अझै बाँकी छ ।”