प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका हुन् ।
उनले यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको पनि जानकारी दिए । सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको प्रधानमन्त्रीको भनाइ छ ।
‘सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन, रासायनिक मलमा अनुदान दिनुको साथै भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु । यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन मैले बेलैमा कृषि मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको छु,' प्रचण्डले भने, 'कृषि मन्त्रालयबाट यससम्बन्धी कार्य अगाडि बढी पनि सकेको छ । यस वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरूको हितलाई अनि उत्पादन र रोजगारी सृष्टिको कुरालाई उच्च प्राथमिकता दिइने कुरा पनि म जानकारी गराउन चाहन्छु ।’