होमेन्द्र थापा, बर्दिया
बर्दियाको गुलरिया नगरपालिका–६ मा रहेको सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सनीवार भएको साधारणसभामा संस्थाको आर्थिक, सामाजिक तथा संस्थागत गतिविधिसहित वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको छ।
संस्थाका कोषाध्यक्ष लक्ष्मी खड्काले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ को मसान्तसम्म १ हजार २ सय ८९ जना रहेको शेयर सदस्य संख्या बढेर हाल १ हजार ३ सय २७ पुगेको छ। त्यसैगरी, शेयर पूँजी ५१ लाख २४ हजार ४ सय रुपैयाँबाट वृद्धि भई ५७ लाख २४ हजार ९ सय रुपैयाँ पुगेको छ।
संस्थाको कुल बचतसमेत वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड १७ लाख ४३ हजार ३ सय ९६ रुपैयाँ ७४ पैसा रहेको कुल बचत हाल ३ करोड ७२ लाख ७३ हजार ९ सय ३१ रुपैयाँ पुगेको कोषाध्यक्ष खड्काले जानकारी दिनुभयो। संस्थाले हालसम्म ३ करोड १ लाख ६० हजार ३ सय ५६ रुपैयाँ ऋण लगानी गरेको उहाँले बताउनुभयो।
सहकारी नियमनकारी निकायबाट जारी गरिएका मापदण्डको पालना गर्दै संस्था सञ्चालन भइरहेको र कर्मचारी प्रशासनसम्बन्धी नियमावलीसमेत कार्यान्वयनमा ल्याइएको संस्थाका अध्यक्ष खुमा कुमारी पोख्रेलले बताउनुभयो।
अध्यक्ष पोख्रेलले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यप्रगति प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा संस्थाले सञ्चालन गरेको किशोरी शिक्षा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गरिएको छ। शेयर सदस्यका लागि छाता बनाउने, चप्पल बनाउनेलगायत विभिन्न सीपमूलक तथा क्षमता अभिवृद्धिका तालिम सञ्चालन गरिएको र त्यसबाट सकारात्मक प्रभाव परेको जनाइएको छ। कर्मचारी तथा सञ्चालकका लागि सञ्चालन गरिएका क्षमता अभिवृद्धि तालिमलाई समेत प्रभावकारी भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, बेसार प्रशोधनका लागि निर्माण गरिएको सोलार ड्रायर प्रभावकारी रहेको संस्थाले जनाएको छ। गत वर्ष ब्याजदरमा आएको कमीका कारण संस्थाको आम्दानीमा केही कमी आएको भन्दै आगामी दिनमा अन्य कारोबार तथा आयका क्षेत्र विस्तार गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।
सहकारीले आर्थिक कारोबारसँगै सामाजिक एकीकरणमा समेत योगदान पु¥याउँदै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विभिन्न जाति, धर्म, सम्प्रदाय र विचारका आधारमा विभाजित समाजलाई जोड्न, संस्थागत जनसहभागिता बढाउन तथा सामाजिक सद्भाव कायम गर्न सहकारीले भूमिका खेलेको जनाइएको छ।
संस्थाले स्थापना दिवसलगायत विभिन्न अवसरमा समुदायप्रति चासो राख्दै सामाजिक कार्य गर्दै आएको जनाएको छ। द्वन्द्व व्यवस्थापन, राष्ट्रिय पूँजी निर्माण, स्थानीय स्रोतसाधनको परिचालन, महिला सशक्तीकरण तथा ग्रामीण क्षेत्रलाई चलायमान बनाउनसमेत सहकारीले सहयोग पु¥याएको प्रतिवेदनमा उल्लेख छ।
कृषि तथा उद्यमशीलता विकास, दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग, समतामूलक आर्थिक व्यवस्था निर्माण तथा समाजको लोकतान्त्रीकरणमा समेत सहकारीको योगदान रहेको प्रतिवेदनमा जनाइएको छ।
साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघ बर्दियाका सचिव इन्दिरा सुबेदीले प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो। उहाँले सहकारीसम्बन्धी हालको ऐन, कानुन तथा सरकारले जारी गरेका परिपत्रका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो। समय, संयमता र संगठन भए सहकारीलाई थप अगाडि बढाउन सकिनेमा उहाँले जोड दिनुभयो।