बारबर्दिया, बर्दियाको बारबर्दिया नगरपालिका–६ शक्तिनगरस्थित नवज्योती आधारभूत विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मेला तथा लैंगिक र अपाङ्गमैत्री शौचालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
समुदायमा रहेका सामाजिक समस्या तथा हानिकारक अभ्यास न्यूनीकरण गर्दै बालबालिका, किशोरकिशोरी र अभिभावकमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।
प्लान इन्टरनेशनल नेपाल र कोइकाको आर्थिक सहयोग तथा बारबर्दिया नगरपालिकासँगको समन्वयमा राधाकृष्ण थारु जनसेवा केन्द्र, गुलरियाद्वारा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
मेलामा विद्यार्थीहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विभिन्न सामग्री तथा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शैक्षिक सामग्री, बारबर्दिया नगर अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवासम्बन्धी जानकारी तथा नेपाल रेडक्रस सोसाइटीका गतिविधि र सेवासम्बन्धी जानकारी समेटिएका स्टल राखिएका थिए। सहभागीहरूले ती स्टलहरूको अवलोकन गरेका थिए।
कार्यक्रममा बोल्ने बक्ताहरुले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मेलाले बालबालिका तथा अभिभावकमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनु भयो। विद्यालयमा आवश्यक रहेको लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माणसँगै सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमले विद्यार्थीको ज्ञान, सीप र व्यवहार परिवर्तनमा सहयोग पुर्याएको उहाँले बताउनु भयो।
कार्यक्रममा बोल्ने वक्ताहरूले समुदायमा रहेका हानिकारक अभ्यास न्यूनीकरण गर्न विद्यालयबाट भइरहेका प्रयास सकारात्मक रहेको बताउनु भयो। भोज, विवाह, व्रतबन्ध, जन्मदिनलगायतका सामाजिक कार्यक्रममा बालबालिकाको आवश्यकतालाई ध्यान नदिई गरिने कतिपय गतिविधिले हानिकारक अभ्यासलाई बढावा दिन सक्ने भएकाले अभिभावकहरू सचेत हुनुपर्नेमा वक्ताहरूले जोड दिनु भयो।
विद्यालयमा निर्माण गरिएको तीन कोठे शौचालय विद्यार्थीका लागि अत्यावश्यक रहेको र यसको निर्माणका लागि नगरपालिकाबाट समेत सिफारिस गरिएको जनाइएको थियो। शौचालय हस्तान्तरण तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मेला र सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा सरसफाइ तथा असल अभ्यासको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राधाकृष्ण थारु जनसेवा केन्द्र तथा परियोजनाका कार्यक्रम संयोजक सुरज अर्यालले परियोजनाले लिएको उद्देश्य र हालसम्म सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउनु भयो। विद्यालयका प्रधानाध्यापक नमा ज्ञवालीले परियोजनाबाट विद्यालय तथा विद्यार्थीले प्राप्त गरेको लाभ र सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउनु भयो।
कार्यक्रममा विद्यार्थीहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा कविता, गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले आफ्नै सिर्जनात्मक प्रस्तुतिमार्फत यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा सन्देश प्रवाह गरेका थिए।
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजनाअन्तर्गत विद्यालयमा पहुँचयुक्त शौचालय निर्माण, यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तालिम तथा छलफल, अभिभावक र किशोरकिशोरीसँग अन्तरक्रिया, बुवा समूह तथा दौतरी शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएको जनाइएको छ। यस्ता कार्यक्रमले समुदाय, अभिभावक तथा किशोरकिशोरीको ज्ञान, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुगेको आयोजकको भनाइ छ।
कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका कर्मचारी, छिमेकी स्थानीय तहका महिला तथा बालबालिका र स्वास्थ्य शाखाका प्रतिनिधि, जनप्रतिनिधि, अभिभावक तथा विद्यार्थीको सहभागिता रहेको परियोजनाकी सुपरभाइजर लक्ष्मी भुर्तेलले जानकारी दिनु भयो।