मुख्य समाचार
बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल |

बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा
बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा

Rato Pen 352+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

बारबर्दिया, 

बारबर्दिया नगरपालिका–३ स्थित बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन एक विशेष समारोहका बीच बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले गर्नुभएको छ। नवनिर्मित भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकले सुरक्षित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवासहित आधारभूत स्वास्थ्य सेवाहरू अझ सहज, व्यवस्थित र गुणस्तरीय रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडा अध्यक्ष नन्दलाल थारुले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, नगर प्रवक्ता सिताराम योगी, वडा नं. १ का अध्यक्ष कैलासपति थारु, वडा नं. ६ का अध्यक्ष झग बहादुर वली, सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले स्वास्थ्य शाखाबाट सञ्चालन भइरहेका कार्यक्रम, स्थानीय तहमा स्वास्थ्य सेवा सुदृढीकरणका प्रयास तथा नवनिर्मित भवनबाट प्रवाह हुने सेवाबारे जानकारी गराउँदै कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख छविलाल थारुले स्वास्थ्य पूर्वाधारको विकासलाई नगरपालिकाको प्राथमिकतामा राखिएको बताउँदै नवनिर्मित भवनले मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भवन निर्माणसँगै दक्ष जनशक्ति, आवश्यक उपकरण तथा प्रभावकारी सेवा प्रवाहमा समेत नगरपालिकाले निरन्तर लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, पछिल्लो समय बढ्दो नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र जनचेतनामूलक अभियानलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भौतिक पूर्वाधार निर्माणसँगै सेवा व्यवस्थापन, सुशासन र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई समान रूपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले स्वास्थ्य संस्था नागरिकको विश्वासको केन्द्र बन्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यकर्मीले सेवामुखी भावना र जिम्मेवारीका साथ कार्य गर्नुपर्ने बताउनुभयो। उहाँले नसर्ने रोगको बढ्दो चुनौतीलाई ध्यानमा राखी समयमै परीक्षण, परामर्श र रोकथामका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा वडा नं. ३ का वडा अध्यक्ष नन्दलाल थारुले आफ्नै वडामा आधुनिक सुविधासहितको स्वास्थ्य चौकी भवन सञ्चालनमा आउनु स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले भवनले विशेषगरी गर्भवती महिला, सुत्केरी आमा, नवजात शिशु तथा ज्येष्ठ नागरिकलाई सहज र सुरक्षित स्वास्थ्य सेवा उपलब्ध गराउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भवनको संरक्षण र प्रभावकारी उपयोगमा सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटुरोगलगायत नसर्ने रोगहरूको बढ्दो जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना, नियमित स्वास्थ्य परीक्षण तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने धारणा राखेका थिए।

करिब ८० लाख रुपैयाँको ठेक्का सम्झौतामा निर्माण सम्पन्न भएको उक्त भवनका लागि १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। भवन सञ्चालनमा आएसँगै प्रसूति सेवासहित आधारभूत स्वास्थ्य सेवाको विस्तार, सेवा प्रवाहको सहजता तथा नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण थप सुदृढ हुने विश्वास लिइएको छ।

कार्यक्रममा नवनिर्मित भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्बन्धित निकाय, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, निर्माण व्यवसायी तथा स्थानीय समुदायप्रति धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले जनस्वास्थ्य सुधारका अभियानलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार