बारबर्दिया — विद्यालयको समग्र गुणस्तर अभिवृद्धि तथा सुशासन सुदृढ गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति (SMC) र शिक्षक अभिभावक संघ (PTA) का पदाधिकारीहरूका लागि दुईदिने क्षमता विकास कार्यशाला सम्पन्न भएको छ। वैशाख ८ र ९ गते (मंगलबार र बुधबार) सञ्चालन भएको उक्त कार्यशाला बारबर्दिया नगरपालिका र प्लान इन्टरनेशनल नेपालको सहयोग तथा भेरी वातावरणीय विशिष्टता समूहको सहजीकरणमा आयोजना गरिएको हो।
तालिम समापन कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको सक्रियताले विद्यालय सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले विद्यालयको स्पष्ट दिशानिर्देश र अभिभावकको सक्रिय सहभागिताले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने उल्लेख गर्नुभयो।
त्यसैगरी, नगरउपप्रमुख रत्नकुमारी पाण्डेले यस प्रकारका तालिमले सिकाइ सुधारमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले विद्यालयहरूमा भौतिक पूर्वाधारको अवस्था उल्लेखनीय रूपमा सुधार भइसकेकाले अब शिक्षण–सिकाइको गुणस्तर सुधारतर्फ विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले विद्यालय सुधार र सुशासन कायम गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीच एकता र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।
तालिमको सहजीकरण प्रशिक्षक मनवीर विश्वकर्माले गर्नुभएको थियो। उहाँले व्यवहारिक, छलफलमूलक तथा अन्तरक्रियात्मक विधिबाट सहजीकरण गर्नुभएको थियो।
कार्यशालामा विद्यालय सुशासनका आधारभूत पक्षहरू, यसको महत्व र व्यवहारिक अभ्यासबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भूमिका, जिम्मेवारी तथा प्रभावकारी समन्वयका उपायहरूबारे जानकारी गराइएको थियो। साथै विद्यालय सुधार योजना (SIP) को बुझाइ, वर्तमान अवस्था विश्लेषण तथा प्रभावकारी कार्यान्वयन र अनुगमनका विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा सिकाइ उपलब्धि वृद्धि, सिकाइ सुधारका अवधारणा, विद्यमान चुनौती (ग्याप) र समाधानका उपायहरूबारे गहन छलफल गरिएको थियो। गुणात्मक तथा समावेशी शिक्षासँगै विपद् व्यवस्थापन र पूर्वतयारीका विषयलाई पनि प्राथमिकताका साथ समेटिएको थियो। त्यसैगरी, विद्यालय सञ्चालनका प्रशासनिक, शैक्षिक, आर्थिक, कानुनी, सहभागिता, जवाफदेहिता तथा पारदर्शिताका पक्षहरूबारे स्पष्ट रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यशालामा विद्यालयको अवस्था विश्लेषण, स्पष्ट लक्ष्य निर्धारण, सहभागिता सुनिश्चितता तथा कार्ययोजना निर्माणमा विशेष जोड दिइएको थियो। साथै नियमित अनुगमन, मूल्याङ्कन र पारदर्शी कार्यान्वयनमार्फत सिकाइ उपलब्धि सुधार गर्ने रणनीति तय गरिएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमले विद्यालय सुशासन सुदृढ गर्दै सिकाइ उपलब्धि अभिवृद्धिका लागि ठोस कार्ययोजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिममा परियोजना लागू भएका बारबर्दियाका १७ वटा विद्यालयबाट माध्यमिक तहका PTA सदस्य तथा विद्यालय व्यवस्थापन समिति (SMC) का अध्यक्ष वा सदस्य र आधारभूत तहका विद्यालयबाट SMC अध्यक्ष वा सदस्य गरी प्रत्येक विद्यालयबाट एक–एक जनाको सहभागिता रहेको थियो।
उक्त परियोजना बर्दियाको बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा पाइलट कार्यक्रमका रूपमा सञ्चालनमा रहेको छ।