होमेन्द्र थापा, बर्दिया
बर्दियाको गुलरिया नगरपालिका–८ सर्जु टपरा क्षेत्रमा बाढी प्रभावित परिवारका लागि निर्माण गरिएको सुरक्षित आवास क्षेत्र नै डुबानमा परेको छ। लगातारको वर्षाका कारण सर्जु नदीको जलस्तर बढेपछि नदी तटीय क्षेत्रमा निर्माण गरिएका घरमा पानी पसेको हो।
गुलरिया नगरपालिका र कारितास नेपालको साझेदारीमा बाढी तथा विपद् प्रभावित परिवारका लागि निर्माण गरिएको आवास क्षेत्र गत असार २ गते लाभग्राहीलाई हस्तान्तरण गरिएको थियो। आवास क्षेत्रमा पानी पसेपछि १७ घरधुरी परिवारलाई सोही वडाको औद्योगिक ग्राम क्षेत्रमा रहेको सुरक्षित आश्रयस्थलमा राखिएको छ।
स्थानीयका अनुसार बिहीबार रातिदेखि लगातार परेको वर्षाका कारण सर्जु नदीको सतह बढेपछि बस्तीमा पानी पसेको हो। सुरक्षित आवासमै बसिरहेका परिवार पुनः विस्थापित भएका छन्। पहिला बसेको सुरक्षीत ठाउँबाट झन असुरक्षित नदी तटीय क्षेत्रमा राखे पछि बस्ती डुबानमा परेको स्थानीय इमताज अली मनिहारले बताउनु भयो ।
बाढीबाट जोगिन यसअघि बस्दै आएको स्थान छाडेर सुरक्षित आवासमा पुगेका परिवार फेरि विस्थापित हुनुपरेको छ । नदी तटीय क्षेत्रमा निर्माण गरिएको आवास नै बाढीको जोखिममा परेपछि आफूहरू थप असुरक्षित बनेको उनीहरूको गुनासो छ । बाढीको पानी घरभित्र पस्न थालेपछि स्थानीयले घरमा रहेका सामान जोगाउन सक्दो प्रयास गरे । बाख्रा, कुखुरा र आवश्यक सामान लिएर उनीहरू नजिकैको आश्रयस्थलमा पुगे । तर, आश्रयस्थलमा पुगेपछि पनि उनीहरूका समस्या भने कम भएका छैनन् ।
स्थानीय तहले सुरक्षित आवासका रूपमा विकास गरेको बस्ती नै नदी तटीय क्षेत्रमा परेपछि अहिले बस्ति नै डुबानको जोखिममा छ। सुरक्षित आवासका नाममा निर्माण गरिएको बस्ती नै बाढीको जोखिममा परेपछि दीर्घकालीन रूपमा सुरक्षित र जोखिमरहित स्थानमा बस्ती व्यवस्थापन गर्नुपर्ने आवाज उठेको छ।