बारबर्दिया, "ज्याकर मुद्दा, वाकर लडाइँ — ज्याकर लडाइँ, वाकर अगुवाइँ" भन्ने मूल नारासहित बारबर्दिया नगरपालिकामा २७औँ मुक्त कमैया दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
बारबर्दिया नगरपालिकाको आर्थिक सहयोग तथा २७औँ मुक्त कमैया दिवस मूल समारोह समितिको आयोजनामा सम्पन्न कार्यक्रममा सामाजिक विकास समिति संयोजक श्यामकुमारी थारूको अध्यक्षता तथा नगर प्रमुख छविलाल थारूको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा उपप्रमुख रत्नकुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, कमैया समाजका केन्द्रीय उपाध्यक्ष सोमलाल थारू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सम्पूर्ण वडा अध्यक्षहरू, सरोकारवाला संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, महिला तथा बालबालिका शाखा प्रमुख उषा पुन, पत्रकार, मुक्त कमैया आन्दोलनका अगुवाहरू, समाजसेवी तथा मुक्त कमैया एवं सुकुम्बासी समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट गरिएको थियो भने मुक्त कमैया आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रमुख अतिथिले ब्यानर वाचनसहित कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन मुक्त कमैया भूमि अधिकार संघर्ष समितिका जिल्ला सचिव कालीराम थारूले गर्नुभएको थियो भने स्वागत मन्तव्य कर्णबहादुर विकले व्यक्त गर्नुभएको थियो।
मुक्त कमैया भूमि अधिकार संघर्ष समितिका केन्द्रीय महासचिव जगतराम चौधरीले "२७औँ मुक्त कमैया दिवसको अवसरमा प्रस्तुत कार्यपत्र–२०८३" प्रस्तुत गर्दै कमैया आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, दास प्रथाबाट मुक्ति प्राप्त गर्न गरिएको संघर्ष, मुक्ति घोषणापछिको अवस्था तथा पुनःस्थापनाका क्रममा अझै बाँकी रहेका समस्याहरू विस्तृत रूपमा प्रस्तुत गर्नुभयो। उहाँले कमैया मुक्ति घोषणा भएको २६ वर्ष पूरा भइसक्दा पनि धेरै मुक्त कमैयाले भूमिको स्वामित्व, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक अवसरबाट पूर्ण रूपमा लाभ लिन नसकेको बताउँदै राज्यले गरेका सम्झौता र प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्ने मुक्त कमैया आन्दोलनका अगुवाहरूले आफूहरूले भोगेका पीडा, पुस्तौँसम्म दास जीवन बिताउनुपरेको अवस्था, अधिकार प्राप्तिका लागि सडकदेखि सदनसम्म गरिएको संघर्ष तथा आन्दोलनका कठिन र प्रेरणादायी अनुभवहरू सुनाउनुभएको थियो। उहाँहरूले कमैया मुक्ति घोषणा ऐतिहासिक उपलब्धि भए पनि वास्तविक मुक्ति भने भूमिको स्वामित्व, सम्मानजनक जीवनयापन र आर्थिक आत्मनिर्भरताबाट मात्र सुनिश्चित हुने धारणा व्यक्त गर्नुभयो।
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मुक्त कमैया समुदायका बाँकी समस्या समाधानका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भूमिसम्बन्धी समस्या समाधान, पुनःस्थापनाका बाँकी काम सम्पन्न गर्न तथा राज्यले गरेका प्रतिबद्धता कार्यान्वयन गराउन आफूहरू निरन्तर सहयोग, समन्वय र पैरवी गर्ने प्रतिबद्धता जनाउनुभयो।
प्रमुख अतिथि नगर प्रमुख छविलाल थारूले मुक्त कमैया आन्दोलन नेपालको सामाजिक न्यायको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै मुक्त कमैया समुदायको सम्मान, अधिकार र समृद्ध जीवन सुनिश्चित गर्न स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाँकी रहेका पुनःस्थापनाका समस्या समाधानका लागि संघ र प्रदेश सरकारसँग निरन्तर समन्वय तथा पहल गरिने र स्थानीय तहबाट गर्न सकिने सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपप्रमुख रत्नकुमारी पाण्डेले मुक्त कमैया समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरण नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै महिला, बालबालिका तथा युवा पुस्ताको क्षमता विकास, शिक्षा, सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममार्फत समुदायलाई आत्मनिर्भर बनाउन नगरपालिकाले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। उहाँले सामाजिक न्याय, समान अवसर र सम्मानजनक जीवन सुनिश्चित गर्न सबै सरोकारवाला निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले मुक्त कमैयाहरूको भूमिको स्वामित्व, सम्मानजनक जीवनयापन तथा संविधानले सुनिश्चित गरेका अधिकारको पूर्ण कार्यान्वयन अझै पनि अधुरो रहेको उल्लेख गर्दै राज्यका तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायबीच साझा प्रतिबद्धता र प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
समापन समारोहमा अध्यक्ष श्यामकुमारी थारूले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै मुक्त कमैया समुदायको अधिकार प्राप्तिको अभियान अझै जारी रहेको स्मरण गराउनुभयो। उहाँले साझा ऐक्यबद्धता, निरन्तर संघर्ष र सहकार्यबाट मात्र सामाजिक न्याय, भूमिको स्वामित्व तथा दिगो पुनःस्थापना सम्भव हुने विश्वास व्यक्त गर्दै सबैलाई अभियानमा निरन्तर साथ दिन आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले "मुक्त कमैयाको सम्मान, अधिकार र भूमिको स्वामित्व सुनिश्चित नभएसम्म हाम्रो आवाज निरन्तर उठिरहनेछ" भन्ने प्रतिबद्धता दोहोर्याउँदै "ज्याकर मुद्दा, वाकर लडाइँ — ज्याकर लडाइँ, वाकर अगुवाइँ" भन्ने नारालाई व्यवहारमा उतार्न सबै पक्षको साझा पहल आवश्यक रहेको निष्कर्ष व्यक्त गरेका थिए।