बारबर्दिया नगरपालिकाले सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयहरूले गरेका असल अभ्यासहरूको आदान–प्रदान तथा सरोकारवालासँग शैक्षिक नीति तथा कार्यक्रम अभिमुखीकरण सम्पन्न गरेको छ।
उक्त कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बारबर्दिया नगरपालिकाको आयोजनामा गरिएको हो।
बारबर्दियामा रहेका १४ सामुदायिक माध्यमिक, १२ आधारभूत तथा एक मदरसा सहित १३ प्राथमिक गरी कुल ३९ वटा विद्यालयका तहअनुसार सफल अभ्यासहरू प्रस्तुत गर्दै आपसी सिकाइ आदान–प्रदान गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ।
सफल अभ्यास र अवरोधबारे विस्तृत छलफल
कार्यक्रममा विद्यालयहरूले शैक्षिक गुणस्तर वृद्धि गर्न सञ्चालन गरिरहेका साप्ताहिक परीक्षा, अतिरिक्त कक्षा, अतिरिक्त गतिविधि, परियोजना कार्य, अभिभावक–विद्यार्थीसँग बसेर नतिजा विश्लेषण, अभिभावक भेला तथा अभिभावक शिक्षा जस्ता सकारात्मक अभ्यासहरूबारे प्रस्तुत गरिएकाे छ।
एसईई, जिल्ला र पालिका स्तरीय परीक्षामा राम्रो उपलब्धि हासिल गरेका विद्यालयहरूले गुणस्तर उन्नयनका प्रभावकारी विधि साझा गरे र प्रश्नोत्तर सत्र पनि सम्पन्न भयो।
त्यसैगरी शैक्षिक गुणस्तरमा देखिएका प्रमुख अवरोधहरूमा अभिभावकको निगरानी कमी, बालबालिकाको मोबाइल दुरुपयोग, विद्यालयप्रति अभिभावकको चासो न्यूनता, समुदायमा देखिने भड्किला विवाह, भोजभतेर, जन्मदिन समारोहले विद्यार्थीको उपस्थिति प्रभावित हुनु, बालविवाह, भाषागत चुनौती, परिवारिक अवस्था, अभिभावकको विदेश रोजगारीका कारण बालबालिकामा मनोसामाजिक प्रभाव पर्ने लगायतका मुद्दा विद्यालयहरूले प्रस्तुत गरिएकाे छ ।
शिक्षकहरूबीच समन्वयको कमी, प्रविधि प्रयोगको अभाव तथा अभिभावकहरूको संस्थागत विद्यालयप्रतिको आकर्षण पनि अवरोधका रूपमा उल्लेख गरियो।
साझा समाधानका लागि अन्तरक्रिया
विद्यालयहरूबीच सफल अभ्यास आदान–प्रदान गर्दै पहिचान गरिएका समस्याहरूको समाधानका लागि अन्तरक्रिया सञ्चालन गरिएको थियो।
अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले विद्यालयहरूबीचको साझा प्रतिबद्धता शैक्षिक गुणस्तर वृद्धि गर्ने महत्वपूर्ण आधार हुने बताउनुभयो।
“प्रधानाध्यापकहरूले विद्यालय व्यवस्थापन समितिसँग सहकार्य गरेर तयार पारेका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिए शैक्षिक सुधारमा ठूलो प्रगति हुन्छ,” उहाँले भन्नुभयो।
नगरपालिका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईले ३९ सामुदायिक विद्यालयका सफल अभ्यासहरू एक–अर्कासम्म पुर्याएर गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यअनुसार कार्यक्रम अघि बढाइएको बताउनुभयो।
“वडा–१ बाट उठेको अभ्यास वडा–११ सम्म, र वडा–११ को अनुभव वडा–१ सम्म पुर्याउने साझा थलोको रूपमा यस कार्यक्रमलाई बनाइएको हो।”
गोसाईका अनुसार शैक्षिक क्षेत्रमा अझै चुनौतीहरू छन् तर साझा प्रतिबद्धता, स्वस्थ प्रतिस्पर्धा र विद्यालय–समुदायबीचको सहकार्यले गुणस्तर सुदृढीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रम तीन दिनसम्म
बारबर्दिया नगरपालिका स्रोत केन्द्र हलमा सम्पन्न कार्यक्रम तीन दिनसम्म सञ्चालन भयो—
३९ वटै विद्यालयका प्रधानाध्यापकहरूले आफ्ना सफल अभ्यास, चुनौती र आगामी योजनाबारे विस्तृत प्रस्तुतीकरण गर्नु भएको छ ।
कार्यक्रममा सहभागीहरूले यस अभ्यास आदान–प्रदानले विद्यालय सुधारमा ठूलो मद्दत पुग्ने धारणा राख्दै यस्ता कार्यक्रमहरूको निरन्तर आवश्यकता रहेको उल्लेख गरिएकाे छ ।
नगरपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि तथा संस्कारसहितको शैक्षिक विकासका लागि विभिन्न गतिविधि अघि बढाइरहेको जानकारीसमेत कार्यक्रममार्फत गराइएको थियो।
